Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– नेकपा (एमाले) का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले काठमाडौं क्षेत्र नम्बर २ का भूकम्पपीडित जनतासँग भेटघाट गर्नुभएको छ । त्यस क्षेत्रका पीडितहरुका बारेमा जानकारी लिँदै तत्कालका लागि राहत सामग्रीसमेत वितरण गर्नुभएको छ ।

नाङ्लेभारेको पटाप र नवीनग्राम विद्यालय, इन्द्रायणीको खुलालटार, साँखु–सुन्टोल र चौकी भञ्ज्यांगमा पीडितहरुलाई भेटेर पूर्वप्रधानमन्त्री नेपालले चामल, त्रिपाल, चाउचाउलगायतका राहत सामग्रीहरु वितरण गर्नुभएको थियो । साथै, अति प्रभावित सिन्धुपाल्चोकको भोटेचौरमा समेत पुगेर उहाँले पीडितहरुसँग भेटघाट गर्नुका साथै राहत सामग्री वितरण गर्नुभएको थियो ।

त्यस क्षेत्रका जनताले पूर्वप्रधानमन्त्री नेपालसँग आफूलाई सरकारले उद्धार तथा राहतमा पर्याप्त ध्यान दिन नसकेको गुनासो गर्दै घर, वस्तुभाउ र आफन्त गुमाउनुपर्दा भोगिरहेको पीडालाई आउँदै गरेको वर्षायामले झन् चर्काउने आशंका प्रकट गरे । उनीहरुले त्रिपालले तत्कालका लागि ओत लाग्न सहयोग गरे पनि वर्षायाम अगावै स्थायी बसोबासमा व्यवस्था नगरेमा आफूहरुको थप बेहाल हुने गुनासो गरेका थिए ।

जवाफमा पूर्वप्रधानमन्त्री नेपालले पीडितहरुको तत्कालीन र दीर्घकालीन राहतका लागि आफूले सरकार तथा सम्पर्कमा आएका गैरसरकारी क्षेत्रका संघसस्थाहरुसँग कुराकानी गरिरहेको जानकारी दिँदै पालको साटो कर्कट पाता वितरणको व्यवस्था गर्न आफूले प्रधानमन्त्रीसँग कुरा गरिसकेको जानकारी दिनुभयो । उहाँको भनाइ थियो– ‘स्थानीय स्रोत, साधन प्रयोग गरेर भूकम्पप्रतिरोधी घर बनाउनका लागि प्रविधि आवश्यक हुन्छ । राष्ट्रले यस कुरालाई मध्यनजर गरी आगामी योजना बनाउनुपर्छ ।’

मदन आश्रित स्मृति प्रतिष्ठानले संकलन गरेको राहत सामग्रीमा ३० केजीका १७० प्याकेट चामल, १६२ थान त्रिपाल, २०० कार्टुन चाउचाउलगायतका सामग्री थिए । उक्त अवसरमा प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालको पनि सहभागिता थियो ।

यसअघि उहाँले क्षेत्र नम्बर २ कै साँखु, डाँछी, इन्द्रायणी, पालुवारी, चापाबोट, छापलगायतका ठाउँहरुका बासिन्दाहरुसँग भेट गरिसक्नुभएको छ । साथै, उहाँले काठमाडौंकै बुढानिलकण्ठ, धरमपुर, गोंगबु, गोठाटार, पेप्सिकोला, शान्तिनगर, कोटेश्वरलगायतका क्षेत्रका पीडितसँग पनि भेटघाट गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया