Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले त्रिभुवन विमानस्थलमा आकस्मिक निरीक्षण गरेको छ । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुहरुले समयमा व्यागेज प्राप्त गर्न नसक्ने‚ एअरलाइन्सहरुले सम्मानजनक व्यवहार नगर्ने, श्रम, अध्यागमन तथा भन्सारसम्बन्धी कार्यहरुमा झन्झटपूर्ण प्रक्रिया पूरा गर्नुपर्ने जस्ता गुनासाहरु आएकाले आकस्मिक निरीक्षण गरिएको कार्यालयले जनाएको छ ।

दिउँसो ११ देखि ४ बजेसम्म र साँझ ७ देखि राति १० बजेसम्मको अवधिमा अत्यधिक उडान हुँदा प्रस्थान तथा आगमन कक्ष व्यवस्थित नभएकोले यात्रुहरुले कठिनाई व्यहोर्नुपर्ने, ट्रान्जिट यात्रुहरुको लागि उपयुक्त व्यवस्था नभएको, शौचालय र विमानस्थलका अन्य संरचनाहरु सफाईमा अझैपनि उचित ध्यान नपुर्याइएको गुनासाहरु सम्बन्धित निकायमा राख्दा उचित रुपमा सुनुवाई नभएको गुनासाहरु बारम्बार आइरहेकोले कार्यालयका सचिव शान्तराज सुवेदीको नेतृत्वमा आकस्मिक निरीक्षण गरिएको हो ।

निरीक्षणका क्रममा प्रस्थान बिन्दुतर्फ श्रम डेस्क, टिकट चेकिङ काउन्टर, अध्यागमन, सुरक्षा जाँच प्रणाली, अन्तिम सुरक्षा जाँच, आगमनतर्फ अध्यागमन क्लियरेन्स, सामान प्राप्त गर्ने प्रक्रिया, भन्सार क्लियरेन्स, ट्याक्सी सेवा, विशिष्ठ अतिथी कक्षको व्यवस्थापन, ट्रान्जिट यात्रुको व्यवस्थापन, शौचालय, ट्रलि, टेलिफोनलगायत विमानस्थलको सरसफाई र त्यहाँ कार्यरत सबै निकायबीचको समन्वयको अवस्था समेत विस्तृत रुपमा अवलोकन गरी विमानस्थल र यात्रुलाई पुर्याउने सेवा प्रवाहमा सुधार ल्याउन विमानस्थलमा कार्यरत सबै निकायका प्रमुख तथा जिम्मेवार पदाधिकारीहरुलाई सचेत गराउनुभयो ।

सचिव सुवेदीले विमानस्थलमा भएका कमीकमजोरी सुधार गर्न लगाउन र अध्यागमन, भन्सार, श्रम डेस्क, सुरक्षा व्यवस्था, बैङ्क एवम् विमानस्थलमा उपलब्ध हुनुपर्ने न्यूनतम सेवा, सुविधालगायतका बिषयमा नियमित अनुगमन गर्न र आइपर्ने समस्याहरु तत्काल सम्बोधन एवम् सिघ्र समस्या सम्बोधन समूह गठन भएकोमा सो समूहले हालसम्म काम नगरेकोले तत्काल सक्रिय बनाई कार्य थालनी गर्न निर्देशन दिनुभयो ।

अनुगमनमा प्रधानमन्त्री कार्यालयका सहसचिवद्वय शङ्कर कोइराला र उत्तरकुमार खत्री, विमानस्थलका सुरक्षा निकाय, भन्सार, अध्यागमन, श्रम, नागरिक उड्डयन प्राधिकरण र एअरलाइन्सका प्रमुख तथा जिम्मेवार पदाधिकारीहरुको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया