Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौँ- ‘उहिले जेलमा रहँदा म पनि कवि थिएँ’ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू पनि कुनै बेला कवि भएको बताएपछि सहभागीलाई जिज्ञाशा उत्पन्न हुनु स्वाभाविक थियो ।

साहित्य र संस्कृतिमा चासो राख्ने नेता भएपनि अध्यक्ष ओलीका कविता प्रकाशित भएको वा बाचन गरिएको चाल नपाएका साहित्यकर्मीलाई ओलीले त्यसबेलाको चित्र यसरी प्रस्तुत गर्नुभयो, “चिसो सिमेन्टमा सुकुल ओछ्याएको हुन्थ्यो, एक हप्तामा सिमेन्टमा पानी पलाएर सुकुल भिजिसकेको हुन्थ्यो, त्यसपछि सायद मूर्खलाई पनि कविता पलाउँथ्यो होला, मभित्र पनि पलायो ।”

झापा विद्रोहबाट राजनीतिमा उदाउनुभएका नेता ओली पञ्चायतको विरोधमा लागेका बेला तीसको दसकमा करिव १५ वर्ष विभिन्न जेलमा (गोलघर) जीवन गुजार्नुभएको थियो । कविता लेख्नका लागि कागज र कलम पाउन पनि मुस्किल भएको सन्दर्भ उल्लेख गर्दै ओलीले कहिलेकाँही प्रहरीकै नियन्त्रणमा कारागार बाहिरभित्र गर्दा भेट्टिने सिसाकलमका टुक्रा र फालिएका ‘गोल्ड ल्फेक’ चुरोटका खोलमा केही कविता लेखिएको तर पछि ती सबै कागजपत्र कविता प्रहरीले कर्याक्कुरुक पारेर लगेकोे स्मरण गर्नुभयो ।

राष्ट्रिय जनसांस्कृतिक महासंघ र जनसाहित्यिक मञ्च नेपालले आज यहाँ आयोजना गरेको ‘अविरल जनसाहित्य यात्रा’ को १४ औं शृङ्खलामा कवि श्यामलका एक दर्जन कविता सुनेपछि एमाले अध्यक्ष ओलीले कविता र आफ्नो सम्बन्धबारे स्पष्ट पार्नुभएको थियो ।

कवि श्यामलले आफू माक्र्सवादी भएपनि पार्टी निकटको स्रष्टा नभएको, कविता सुनाउँदा प्रमुख अतिथि वा विशिष्ठ व्यक्तिलाई मञ्चमा र तल स्रोताको दुई वर्ग गराइएको नरुचाउने गरेको अभिव्यक्ति दिएपछि अध्यक्ष ओलीले पनि घुमाउरो शैलीमा कविलाई प्रहार गर्दै भन्नुभयो, “कतिपयलाई यहाँ हाँसको बथानमा म बकुल्लो आएँ भन्ने परेको होला तर बेठीक भएको छैन, मैैले पनि त कविता श्रवण गर्न सिकेँ ।”

“सबै चिज आफूले मात्रै थामेको छु भन्ने भ्रम पाल्नु हुँदैन, मुलुक बनाउन हरेक क्षेत्रको उत्तिकै महत्व हुन्छ, जति जागरण निर्माणमा साहित्यले भूमिका निर्वाह गरेको छ, राजनीतिको पनि उत्तिकै भूमिका छ र अरु विषयको पनि,” ओलीको जवाफ थियो ।

गैह्रकवि तथा आफूभन्दा कनिष्टलाई पार्टीहरुले ठूलो ठूलो ओहोदा (प्राज्ञ पद) दिइएको भन्दै श्यामलको अप्रत्यक्ष असन्तुष्टि हरेक कविताका भूमिका सुनाउने क्रममा छरपष्ट भएको थियो । अध्यक्ष ओलीले आफूलाई कविता बुझ्न सक्ने बनाउन श्यामलका कविता र अभिव्यक्ति सार्थक रहेको टिप्पणी गर्दै उहाँका कतिपय गुनासाबारे सँगै बसेर संवाद गर्न इच्छुक रहेको जनाएपछि नेता र कविताका सवालजवाफ सहमतितर्फ उन्मुख भएको महसुुस हुन्थ्यो ।

विगत चार दसकदेखि कवितामा साधनारत श्यामलले आफ्नो चर्चित कृति ‘हतारमा यात्रा’ बाट एक दर्जन कविता पस्कनुभएको थियो । समय र सन्दर्भलाई सटिकरुपमा बिम्ब र प्रतिक मिसाएर कविता लेख्ने कवि तथा स्तम्भकार श्यामलले ‘शान्ति नेपाली’, ‘मैना सुनारकी आमा’, ‘मुचुल्कामा लास’, ‘विचार’, ‘केही डरलाग्दा नामहरु’, ‘हत्याराको आत्मलाप’, ‘लुतो’ आदि कविता बाचन गर्दा सहभागी मन्त्रमुग्ध भएका थिए । कवि श्यामलको एकल प्रस्तुतीलाई हरिमाया भेटवाल, केशल सिलवाल, संगीत स्रोता, फूलमान बलले केही कविता वाचन गरी साथ दिनुभएको थियो ।

विगत एक वर्षदेखि हरेक महिना प्रारम्भ गरिएको अविरल जनसाहित्य यात्रामा सहभागी भएका प्रतिभाहरु मोदनाथ प्रश्रित, आनन्ददेव भट्ट, बुँद राना, प्रदीप ज्ञवाली, मुकुन्द न्यौपाने, नमूना शर्मा, सुलोचना मानन्धर, कणाद महर्षि, वासुदेव अधिकारी, नरनाथ लुईँटेल, जगन्नाथ आचार्य, रामप्रसाद प्रदीपलाई सम्मान गरिएको थियो । रासस

तपाईको प्रतिक्रिया