काठमाडौं– जनकपुर पुनरावेदन अदालतले रामेछापका गणेशकुमार श्रेष्ठको हत्या सम्बन्धमा परेको उजुरीको सुनुवाइ गर्दै घटनाको अनुसन्धान अघि बढाउन निर्देशन दिएको छ ।
मृतक श्रेष्ठकी बहिनी सावित्री श्रेष्ठको उजुरीको सुनुवाई गर्दै पुनरावेदन अदालत जनकपुरका मुख्य न्यायाधीश पुरुषोत्तम भण्डारी र मेघनाथ भट्टराईको संयुक्त इजलासले ६ महिनाभित्र अनुसन्धान पूरा गरी दोषीउपर कारबाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय रामेछाप र जिल्ला सरकारी कार्यालय रामेछापको नाममा परमादेशको जारी गरेको हो ।
पीडितका तर्फबाट मंगलबार अधिवक्ता गोविन्द शर्मा बन्दी, पुष्पराज पौडेल, राजकुमार महासेठ र सिताशरण मण्डलले बहस गर्नुभएको थियो ।
२०५५ साल असार १० गते ओखलढुंगामा मारिएका उज्जनकुमार श्रेष्ठका दाइ गणेशकुमार श्रेष्ठलाई २०५९ साल मंसिर ६ मा खेतमा काम गरिरहेको अवस्थामा रामेछापको साँघुटारमा गोली हानिएको थियो ।
घटनाको १२ वर्षपछि यो मुद्दा ब्युँतिएको हो । घटनाका दोषीउपर दायर गरिएको किटानी जाहेरीमा १२ वर्षसम्म प्रहरीले प्रक्रिया अगाडि नबढाएपछि पीडित परिवारले फागुन ६ गते पुनरावेदन अदालत, जनकपुरमा रिट निवेदन दायर गरेका थिए ।
रिटको सुनुवाई गर्दै अदालतले कारबाही अगाडि नबढाउनुको कारण १५ दिनभित्र पेश गर्न जिल्ला प्रहरी कार्यालय रामेछापलाई आदेश दिएको थियो । प्रहरीले चित्त बुझ्दो कारण पेश गर्न नसकेपछि अदालतको यो आदेश आएको पीडितकी बहिनी श्रेष्ठले जानकारी दिनुभयो ।
उज्जैनकुमारको हत्या प्रकरणमा एमाओवादीका पूर्वसभासद् बालकृष्ण ढुंगेल लगायतलाई सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला गरिसकेको छ ।