नवलपरासी– एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफूहरु आन्दोनलमा रहेपनि संविधानसभा छाडेर नजाने भन्दै संविधानसभाबाटै संविधान जारी गर्ने पक्षमा रहेको स्पष्ट पार्नुभएको छ ।
क्रान्तिकारी पत्रकार संघ नवलपरासीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले आफूहरुले स्थापित गरेको संविधानसभाबाट नै गणतन्त्र संस्थागत गर्ने स्पष्ट पार्नुभयो । उहाँले संविधानसभा बैठक कांग्रेस–एमालेले बलमिच्याँइ गर्न थालेकाले बहिष्कार गरेको भन्नुभयो । अध्यक्ष दाहालले संविधानसभाको बैठक बहिष्कारलाई एमाओवादी संविधानसभाबाट भाग्यो भन्न नहुने तर्क गर्नुभयो ।
अध्यक्ष दाहालले गणतन्त्र आफूहरुको एजेण्डा भएको भन्दै त्यसका बिरोधी शक्तिहरु कांग्रेस र एमालेको संबिधानसभामा प्राविधिकरुपले बहुमत भएका कारण छिटो संबिधान जारी गर्न नसकिएको बताउनुभयो ।
पहिचान सहितको संघीयता, गणतन्त्र, धर्मनिरपेक्षताका पक्षमा आफूहरु रहेकाले एमाओवादीका बारेमा शकां नगर्न सर्वसाधारणमा आह्वान गर्नुभयो । उहाँले प्रदेशको संख्या यति नै हुनु पर्छ भन्ने आफ्नो पार्टी र मोर्चाको धारणा नभएको समेत बताउनुभयो । अध्यक्ष दाहालले ‘प्रदेशको विषयमा ६ देखि १४ जति प्रदेशमा पनि छलफल गर्न तयार छौं । संख्या ठूलो बिषय होइन । मुख्य कुरा पहिचान सहितको संबिधान हो त्यसैमा हाम्रो अडान कायमै छ ।’
अध्यक्ष दाहालले शनिबार नै नवलपरासीको डण्डामा कार्यकर्ता प्रशिक्षणमा प्रशिक्षण दिनुभएको थियो । कार्यकर्ता प्रशिक्षणमा बोल्दै अध्यक्ष दाहालले पाँच माओवादीलाई एउटै पार्टी बनाएर लैजाने गरी छलफल भईरहेको जानकारी दिनुभयो ।