Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठले जाजरकोटमा फैलिएको महामारी नियन्त्रणको निकट पुगेको दाबी गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले जाजरकोटबाट आएको रिपोर्टमा जाजरकोटमा फैलिएको महामारी नियन्त्रणको निकट रहेको जानकारी आएको भन्दै जाजरकोटसँग जोडिएका अन्य जिल्लामा फैलन नदिनसमेत विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)सँग समन्वय गरेर ६ वटा विशेष टोली छ जिल्लामा समेत परिचालन गरिसकेको बताए । उनले भने– ‘छिमेकी जिल्लाका स्वास्थ्यकर्मीहरुलाई पनि उच्च सर्तकतामा राखेका छौँ ।’

सचिव श्रेष्ठले जाजरकोटमा ३ हजारको स्वास्थ्य परीक्षण गरिएकोमा ७५ प्रतिशत विरामीमा अरु नै रोग पाइएको, फ्लु देखिएका २५ प्रतिशत मध्ये करिब सात प्रतिशतमा स्वाइन फ्लुको जिबाणु भेटिएको जानकारी दिँदै जाजरकोटमा स्वाइन फ्लु पुष्टि भइसकेको बताए ।

उनले सरकारसँग रोगको उपचारको लागि प्रयाप्त औषधी मौज्दात रहेको भन्दै आफूहरु पूर्ण तयारी अवस्थामा रहेको दावी गरे ।

मुख्यसचिव नेतृत्वको समितिले तत्कालिन उपचार र दिर्घकालमा समस्या आउन नदिने उपायको खोजी गरिरहेको जानकारी दिँदै उनले जाजरकोटको अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रहरुलाई अपग्रेट गर्ने तयारीमा रहेको बताए ।

रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले जाजरकोटमा फैलिएको महामारी रोक्न ६ वटा विशेषज्ञहरुसहितको टोली सक्रिय रहेको जानकारी दिँदै नयाँ नयाँ टोलीसमेत जाने तयारीमा रहेको बताए ।

शनिवार साँझसम्मा नेपाली सेनाको १२ जनाको विशेषज्ञसहितको टोली पनि जाजरकोट जाने जानकारी दिदै उनले निजी क्षेत्रका मेडिकल कलेजहरुले समेत चासो देखाएको बताए ।

तपाईको प्रतिक्रिया