Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको शुक्रबार साँझ पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ दाहसंस्कार गरिएको छ । थापाको पार्थिव शरीरमा छोरा सुनिलबहादुर थापाले दागबत्ती दिनुभयो ।

अन्तिम संस्कारअघि दिवंगत थापाको पार्थिव शरीर राखिएको स्थल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पुगेर समाजका विभिन्न व्यक्तित्वले थापाप्रति श्रद्धान्जली अर्पण गर्नुभएको छ ।

प्रधानमन्त्री सुशील कोइरालाले नेपालको राष्ट्रिय झन्डा ओढाएर थापाप्रति राष्ट्रिय सम्मान व्यक्त गर्नुभयो ।

यसैगरी, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, एमाले अध्यक्ष केपी ओली, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेललगायत राजनीतिक दलका नेताहरुले थापाप्रति श्रद्धान्जली व्यक्त गर्नुभयो । यसैगरी, उपप्रधानमन्त्री बामदेव गौतम, पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल, डा. बाबुराम भट्टराई, कीर्तिनिधि विष्ट, लोकेन्द्रबहादुर चन्द, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारलगायत नेता, कार्यकर्ता तथा सर्वसाधारणले रंगशाला पुगेर थापाप्रति श्रद्धान्जली व्यक्त गर्नुभएको छ ।

बिहीबार साँझ भारतको दिल्लीबाट ल्याइएको थापाको पार्थिव शरीर रातभर उहाँकै निवास मालिगाउँमा राखिएको थियो भने आज बिहान १० बजेदेखि १ बजेसम्म चाबहिलस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा राखिएको थियो ।

रंगशालामा नेपाली सेनाको टुकडीले राजकीय सम्मानको साथ सलामी दिएपछि शवयात्रा गरिएको थियो । दशरथ रंगशालाबाट सुरु भएको शवयात्रा वीर अस्पताल, बागबजार, डिल्लीबजार, मैतिदेवी, पुरानो बानेश्वर, बत्तिसपुतली, गौशाला हुँदै पशुपति आर्यघाट पुगेको थियो ।

भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा ८८ वर्षको उमेरमा बुधवार राति निधन भएका थापाको पार्थिव शरीर विहीबार साँझ भारतीय एअर फोर्सको विशेष विमानबाट काठमाडौं ल्याइ मालिगाउँस्थित निजी निवासमा राखिएको थियो ।

पूर्वप्रधानमन्त्री थापाको शोकमा सरकारले शुक्रबार राष्ट्रिय बिदा दिएको थियो ।

तपाईको प्रतिक्रिया