कास्की- नयाँ वर्ष २०७२ को सुरुबाटै पोखराको फेवातालमा केवलकार निर्माण थालिने भएको छ ।
पोखराको वसुन्धरापार्कदेखि फेवातालपारि रहेको पुम्दी–भुम्दीको कोदीडाँडामा रहेको विश्वशान्ति स्तूपसम्म पुग्ने गरी ‘चितवन कोइ’ कम्पनीले केवलकार निर्माण थाल्ने भएको हो ।
‘चितवन कोइ’ मनकामना केवलकार बनाएको सफल कम्पनी हो । यसले अस्ट्रियाको डोपेलमेयरको साझेदारीमा रु एक अर्ब ३० करोडको लागतमा केवलकार बनाउन लागेको हो ।
भौतिक योजना मन्त्रालयले ‘चितवन कोइ’लाई १ दशमलव ६ किलोमिटर लामो केवलकार निर्माणका लागि परियोजनाको विस्तृत सर्वेक्षण (डिपिआर) को स्वीकृति दिएपछि निर्माणले गति लिएको हो ।
“डिपिआर निर्माण गर्न स्वीकृति दिएपछि धमाधम काम भइरहेको छं”, मनकामना दर्शन प्रालिका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले भन्नुभयो, “दुई वर्षमा निर्माण गरिसक्ने योजना छ ।”