Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

बागलुङ – बागलुङ क्षेत्र नं. १ को उपनिर्वाचनमा जमानतसमेत जोगाउन नसकेका एमाओवादी उम्मेदवार कृष्ण केसीले चुनावमा सत्ताको दुरुपयोग भएको आरोप लगाएका छन् ।

परिणाम आएको भोलिपल्ट सोमबार विज्ञप्ती जारी गर्दै केसीले सत्ताधारी दलहरुबाट सत्ता र पैसाको दुरुपयोग भएको आरोप लगाएका छन् ।

केसीले संसदीय व्यवस्था असफल भएको टिप्पणी गर्दै पार्टीले अघि सार्दै आएको समानुपातिक निर्वाचन प्रणाली नै सर्वोत्तम भएको प्रमाणित भएको उल्लेख गरेका छन् ।
विज्ञप्तीको पूर्णपाठ यस्तो छः

प्रेस विज्ञप्ति

प्रथमतः म संविधान सभा सदस्य उपनिर्वाचन, बागलुङ्ग क्षेत्र नं. १ मा एकीकृत नेकपा (माओवादी)लाई मतदान गर्नु हुने सम्पूर्ण मतदाताहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । साथै मलाई उम्मेद्वारको रुपमा खडा गरेकोमा पार्टी नेतृत्वप्रति कृतज्ञता व्यक्त गर्दछु । संकटको घडीमा पार्टीको झण्डा उठाएर निर्वाचनको संग्राममा होमिन पाएकोमा गौरवान्वित छु । निर्वाचनमा हाम्रो पार्टीलाई विजयी बनाउने लक्ष्य लिएर निष्ठापूर्वक अनवरत रुपमा खट्नुहुने सम्पूर्ण पार्टी नेताहरु, कार्यकर्ताहरु, सदस्यहरु, मतदाता, समर्थक र शुभेच्छुकहरु तथा यस निर्वाचनलाई शान्तिपूर्ण रुपमा सफल बनाउनको लागि सहयोग गर्नु हुने निर्वाचन आयोग, स्थानीय प्रशासन, विभिन्न राजनैतिक दल, अनुगमनकर्ताहरु, मानवअधिकारकर्मीहरु, आममतदाताहरु, स्वयंसेवकहरु, सुरक्षाकर्मीहरु, स्थानीय सञ्चार माध्यमहरु, पत्रकारहरु सहित सबै सरोकारवालाहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

आवधिक निर्वाचनलाई संसदीय व्यवस्थामा जनताले आफ्नो प्रतिनिधि छान्ने लोकतन्त्रको सुन्दर प्रकृयाको रुपमा व्याख्या गरिन्छ । स्वच्छ, स्वस्थ र निस्पक्ष निर्वाचन त्यसको आधारभूत शर्त हो । यो त झन संविधान सभाको निर्वाचन थियो । यस्तो ऐतिहासिक निर्बाचनमा राजनैतिक, बैचारिक र संविधान सभामा उठाउने मुध्दाहरुलाई गौण बनाई आमजनतामा निरासा र राजनीति प्रति नै वितृष्णा पैदा हुने गरी सत्ताधारी दलहरुबाट सत्ता र पैसाको दुरुपयोग हुनु, निर्वाचन आचार संहिताको उलंघन हुनु, आममतदाताहरुलाई अवान्छित प्रलोभनमा पारिनु, मतदाता खरीद–विक्रि गरिनु, त्यस क्रममा विभिन्न ठाउँहरुमा नाराबाजीहरु तथा एक–आपसमा झडपहरु समेत हुनु, सो बारे स्थानीय संचार माध्यममा स्विकारोक्ति आउनु र यी सबै कुरा छर्लङ्ग हुँदा हुँदै पनि निर्वाचन आयोग मौन बस्नु निन्दनीय र भत्सर्नायोग्य मात्र नभई लोकतन्त्र माथिकै प्रहार हो । विजयी हुनको लागि करोडौंको धनराशी खर्च गर्नुपर्ने र सो रकम उठाउन भ्रष्टाचार तथा अन्य विभिन्न अपराधमा संलग्न हुनु पर्ने र पराजित भएमा आर्थिक रुपमा जीवनभर कहिल्यै उठ्न नसक्ने गरी थला पर्नुपर्ने स्थिति पैदा भएको छ । यस प्रकारको निर्वाचनले जनताको वास्तविक अभिमतको प्रतिनिधित्व गर्न र गरीब, दुःखी जनताले निर्वाचनमा प्रतिनिधिको रुपमा प्रस्तुत हुन सक्ने स्थितिको कल्पना समेत गर्न सकिंदैन । यस प्रकारको चुनावी शैलीले वर्तमान संसदीय व्यवस्थाको धज्जी उडेको छ र यसको असफलता प्रस्ट भएको छ । यसबाट हाम्रो पार्टीले प्रस्ताव गरेको पूर्ण समानुपातिक निर्वाचन प्रणाली नै सर्वोत्तम प्रणाली भएको सिध्द भएको छ ।

यस निर्वाचनमा हामीले शालिन र गौरवशाली तरिकाले पार्टी र क्रान्तिको आदर्शलाई उँचो राख्ने गरी, निर्वाचन आचार संहिताको परिधिभित्र रहेर संविधान सभामा पार्टीले उठाएका र उठाउनु पर्ने जनताका मुध्दाहरु बोकेर जनताका बस्तीहरु र घर–दैलोमा पुग्दै निर्वाचन अभियान सम्पन्न गरयौं । मरणासन्न वर्तमान संसदीय व्यवस्थाको कुरुप प्रतिस्पर्धामा पार्टीले अप्रत्यासित परिणाम भोग्नु परेको छ । जनताले सबै कुराको निगरानी राखिरहेका छन् । तसर्थ यसका आन्तरिक र बाह्य कारणहरु खुल्दै जानेछन् । त्यसको बाबजुद पनि हामीले जनतासँग राखेका बिचारहरुमा प्रतिबध्द हुँदै निरन्तर क्रियाशील रहने र जनताले दिएका सुझाबहरुलाई ग्रहण गर्दै क्रान्ति र पार्टीप्रति निष्ठावान रहँदै अविछिन्न रुपमा क्रान्ति, पार्टी र जनताको सेवामा लागिरहने प्रतिवध्दता व्यक्त गर्दछु । आम पार्टी पंक्ति, कार्यकर्ताहरु, सदस्यहरु, समर्थकहरु, मतदाताहरु र शुभेच्छुकहरुलाई निराश नभई अविचलित रुपमा अगाडि बढ्नको लागि हार्दिक अनुरोध गर्दछु । क्रान्तिको बाटो घुमाउरो, लामो र कठीन छ । तर अन्तिम विजय जनताकै हुनेछ ।
क्रान्तिकारी अभिवादन सहित ।

कृष्ण बहादुर केसी
उमेद्वार
एकीकृत नेकपा (माओवादी)
बागलुङ्ग क्षेत्र नं. १

तपाईको प्रतिक्रिया