शनिबार, आषाढ १५, २०८१
Saturday, June 29, 2024

काठमाडौं – संविभाधानसभामा सभाध्यक्षले असंवैधानिक रुपमा प्रक्रिया थालेको भन्दै त्यसलाई नसच्चाए सत्ता पक्षले बोलाएको कुनै वार्ता र संवादमा नबस्ने अडान लिएको एमाओवादी नेतृत्वको मोर्चालाई पेलेरै अगाडि बढ्ने निर्णय नेपाली कांग्रेस, एमालेसहितका सत्तारुढ दलहरुले गरेका छन् ।

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रश्नावलीसम्वन्धी प्रस्ताव निर्माण समितिको बैठक बोलाएको अघिल्लो दिन बसेको सत्तारुढ दलको बैठकले विपक्षी दलहरु नआए पनि अघि बढ्ने निर्णय लिएको हो ।

बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकले कुनै पनि हालतमा संविधान निर्माणका लागि संविधानसभामा सुरु भएको प्रक्रिया नरोक्ने निर्णय गर्दै प्रश्नावली समितिले शनिबार देखि नै आफ्नो काम अघि बढाउने निर्णय गरेको छ । ती नेताका अनुसार प्रश्नावली समितिको पहिलो बैठकमा कार्यविधि बनाउने सहमति कांग्रेस– एमालेबीच भएको छ । आइतबारसम्म कार्यविधि बनाउने र त्यसपछि प्रश्नावली बनाउने निर्णय कांग्रेस एमालेले गरेका छन् ।

एमाओवादी र मधेसवादी दलको विरोधकै बीच सभाध्यक्षले शनिबार १ बजेका लागि प्रश्नावली समितिको बैठक बोलाएका छन् । ७३ सदस्यीय समितिमा अहिलेसम्म ४९ सदस्य मात्र चयन भएका छन् भने एमाओवादी र मधेसवादीसहितका विपक्षी दलहरुले यसको खारेजीको माग गर्दै सहमतीय प्रक्रियाबाट संविधान निर्माणको प्रक्रिया थाल्न माग गर्दै आइरहेका छन् ।  रासस ***

तपाईको प्रतिक्रिया