शनिबार, आषाढ १५, २०८१
Saturday, June 29, 2024

काठमाडौं- संविधानसभामा प्रश्नावली प्रस्ताव समिति गठन भएपछि आन्दोलनमा जानुको विकल्प नभएको निष्कर्ष निकालेको एकीकृत माओवादी वार्ताका लागि सत्तारुढ दल समक्ष तीन वटा सर्त अघि सारेको छ । उसले वार्ता अघि बढाउन प्रश्नावली प्रस्ताव समिति खारेजीको अडान दोहोर्‍याउदै त्यसो नभए कम्तिमा समिति स्थगनको माग गरेको छ ।

प्रस्ताव समिति खारेज वा स्थगन दुवै हुन नसके सत्तारुढ दलले सहमतिकै आधारमा संविधान निर्माण हुन्छ भन्ने प्रतिबद्धता सहितको संयुक्त राजनीतिक विज्ञप्ती जारी गर्नुपर्ने एकीकृत माओवादीको माग छ । लाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहालको निवासमा आज झण्डै ७ घण्टा बसेको सो पार्टीका शीर्षस्थ नेताको बैठकले वार्ताका लागि सर्त अघि सारेको स्थायी समिति सदस्य अग्नी सापकोटाले जानकारी दिए ।

बैठकमा आफ्नो पार्टी नेतृत्वको ३० दलीय मार्चाद्धारा घोषित ३ महिने आन्दोलनका कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको नेता सापकोटाले बताए । समय खेर नफाली सबै केन्द्रीय सदस्यलाई आ-आफ्ना जिल्लामा पठाउनेबारे छलफल भएको र त्यसको अन्तिम टुङ्गो शनिबार बस्ने केन्द्रीय समिति बैठकले लगाउने उनको भनाई छ ।

तपाईको प्रतिक्रिया