शनिबार, आषाढ १५, २०८१
Saturday, June 29, 2024

काठमाडौं- सभाध्यक्षले संविधान निर्माण प्रक्रिया सुरु गरेपछि बिच्किएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न प्रधानमन्त्री सुशील कोइराला शुक्रबार बिहान लाजिम्पाट पुगेका छन् ।

भेटमा प्रधानमन्त्री कोइरालाले सहमतिमा आउन दाहाललाई आग्रह गरे । प्रधानमन्त्री कोइरालाले बाह्रबुँदे समझदारीदेखिको सहयात्रालाई निरन्तरताका लागि सहमतिमा संविधान लेख्नुपर्नेमा जोड दिए ।

सहिद दिवसका अवसरमा सहिदप्रति सम्मान तथा श्रद्धाञ्जलि अर्पण गर्न लैनचौरस्थित सहिद स्मारक गएका प्रधानमन्त्री कोइराला आफ्नो सरकारी निवास बालुवाटार पर्कने क्रममा बिनाजानकारी अध्यक्ष दाहाल निवासमा गएका थिए ।

अध्यक्ष दाहाल नेता डा बाबुराम भट्टराई र सचिव वर्षमान पुनलगायतका नेताहरूसँग पार्टीको आन्तरिक बैठकको तयारीमा थिए । एक्कासी प्रधानमन्त्री प्रवेश गरेपछि उनीहरु अलमलमा परेका थिए ।

करिब आधा घण्टा भएको उक्त भेटमा अध्यक्ष दाहालले सहमतिको वातावरणको सुनिश्चिता नभएसम्म वार्तामा नआउने धारणा दोहोर्‍याएका थिए ।

प्रधानमन्त्री कोइरालाले यसअघि पनि दुईपटक अध्यक्ष दाहाललाई टेलिफोन गरी सहमतिका लागि पहल गरिसकेका भने कांग्रेस, एमालेलगायत संविधानसभामा रहेका १० दल र दुई सभासद्को संयुक्त बैठकले एमाओवादी र मधेसी मोर्चालाई सहमतिका लागि वार्तामा आउन आह्वान गरेको थियो ।

अध्यक्ष दाहालले ठूलो पार्टीको सभापति तथा प्रधानमन्त्रीको हैसियतले कोइरालाले नै सहमतिमा नै संविधान लेख्ने सुनिश्चिता नगरेसम्म वार्तामा बस्न राम्रो न पनि नहुने र त्यसको कुनै औचित्य नरहने बताएका थिए ।

तपाईको प्रतिक्रिया