शनिबार, आषाढ १५, २०८१
Saturday, June 29, 2024

टोकियो- जापानी प्रधानमन्त्री सिन्जो आबेले जापानी पत्रकार र अर्का एक जोर्डनी नागरिक (विमान चालक) को हत्या गर्ने भनी आइएसले दिएको धम्की लज्जास्पद र घिनलाग्दो भनी टिप्पणी गर्नुभएको छ ।

टोकियोमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो कार्यको जति निन्दा गरे पनि पुग्दैन भन्नुभयो ।

एकजना जापानी पत्रकारलाई अपहरण गरी नियन्त्रणमा राखेका आइएसका लडाकूले पुनः अर्को सर्त अघिसारी सो सर्त पूरा नभएमा उनको पनि हत्या गर्ने धम्की दिएका छन् ।

उनीहरुको नियन्त्रणमा एकजना जोर्डनी विमान चालक पनि रहेका छन् । आइएसले अघि सारेको सो सर्त पूरा नभएमा उनको पनि हत्या गरिने धम्की उनीहरुले दिएका छन् ।

सो पत्रकार सम्मेलनमा प्रधानमन्त्री आबेले इस्लामिक स्टेटद्वारा पक्राउ गरिएका आफ्ना नागरिकलाई मुक्त गर्नका लागि आफूले भरमग्दुर प्रयास गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– ‘मैले यस विषयमा कुनै पनि कसुर बाँकी नराखी काम गर्न मन्त्रिपरिषद्का सबै सदस्यलाई निर्देशन दिइसकेको छु र सरकारले जोर्डन सरकारसँग मिलेर काम गरिरहेको छ ।’

इस्लामिक अतिवादी आइएसले अपहरण गरेका आफ्ना एकजना नागरिकको हत्या गरिसकेको र अर्का नागरिकलाई पनि हत्या गर्ने धम्की दिएकाले जापान सरकारलाई निक्कै अप्ठेरो परेको बताइन्छ ।

पत्रकार सम्मेलनमा उपस्थित हुनुभएका प्रधानमन्त्री आबे निक्कै रिसाउनुभएको थियो । रिसाएको अवस्थामा नै उहाँले पत्रकारका जिज्ञासाको जवाफ दिइरहनुभएको थियो ।

यसअघि सो आतङ्कवादी समूहले जापान सरकारसँग २० करोड अमेरिकी डलर फिरौती मागेका थिए । जापान सरकारले सो फिरौती रकम दिन नमानेपछि गत हप्ता नै एकजना जापानी नागरिकको हत्या गरेका थिए ।

उनीहरुको रिहाइका लागि उक्त इस्लामिक समूहले फेरि माग परिवर्तन गरेको छ । उसले ती पत्रकारको जीवन बचाउने हो भने जोर्डनको जेलमा रहेका आफ्ना सदस्यलाई रिहा गर्नुपर्ने सर्त अघि सारेका छन् ।

जोर्डनी जेलमा आइएसका एकजना सदस्य साजिदा अल रिसवाई थुनामा छन् । उनको रिहाइ गरेपछि मात्र जापानी पत्रकार केन्जी गोतो र ती जोर्डनी विमान चालकलाई छोडिने सर्त सो समूहले अघि सारेको छ ।

आफ्ना नागरिकको रिहाइको पहलका लागि जापानी उपविदेशमन्त्री योसिहिदे नाकायामा दुई दिनअघिमात्र जोर्डन जानुभएको थियो ।

उहाँले त्यहाँका राजा अब्दुल्लाहलाई भेटगरी सो विषयमा कुराकानी गर्नुभएको थियो । जोर्डनी राजाले पनि आफ्ना तथा जापानी नागरिकको रिहाइका लागि जापान सरकारसँग मिलेर काम गर्ने आश्वासन दिनुभएको थियो । ***

तपाईको प्रतिक्रिया