शनिबार, आषाढ १५, २०८१
Saturday, June 29, 2024

विराटनगर- संविधानका लागि अन्तिम प्रयाससम्म पनि सहमतीको प्रयास गरिने सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले बताउनुभएको छ ।
संविधानको अन्तिम धाराको मतदानसम्म पनि एमाओवादी एवम् मधेसी मोर्चा आवद्ध दलहरुसँग सहमतिको प्रयास जारी रहने नेपाल महिला सङ्घ मोरङको पदस्थापना तथा नोना स्मृति दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा उहाँले बताउनुभएको हो ।
शान्ति प्रक्रियाको एउटा शक्ति एमाओवादी भएकाले उनीहरुको विचारलाई पनि संविधानमा समेट्न आफूहरु तयार रहेको उहाँले बताउनुभयो ।
सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री डा. रिजालले संविधानसभाको दोस्रो निर्वाचनमा जनताले व्यक्त गरेको अभिमतअनुसार संविधान बनाउँछौं भन्नुभयो ।
मन्त्री डा. रिजालले पहिलो संविधानसभामा माओवादीलगायतका दललाई जनताले बहुमत दिएपनि गत संविधानसभामा उहाँहरुको विचार हारेकाले त्यही अभिमतअनुसारको संविधान बन्नुपर्ने धारणा प्रकट गर्नुभयो ।

मन्त्री डा रिजालले एमाओवादी लगायतका दलले मतदानको प्रक्रिया रोक्न नहुने विचार व्यक्त गर्दै लोकतान्त्रिक विधि र प्रक्रिया स्वीकार्न विपक्षी दलहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा मन्त्री रिजालले नेपाल महिला सङ्घ मोरङका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया