आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

काठमाडौँ- एकीकृत नेकपा (माओवादी)ले विद्यमान पार्टी पदाधिकारीलाई विघटन गरी केन्द्रीय समितिमात्रै राख्ने निर्णय गरेको छ ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा बसेको स्थायी समितिको बैठकले पार्टीभित्रको विवादलाई हल गर्न र अरू माओवादी घटकसँगको एकतालाई प्रभावकारी रूपमा अगाडि बढाउन भन्दै पदाधिकारी विघटनको निर्णय गरेको हो । हाल कायम रहेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समिति बनाउनेसमेत स्थायी समितिले निर्णय गरेको कोषाध्यक्ष हरिबोल गजुरेलले जानकारी दिनुभयो ।

पार्टी पदाधिकारी विघटन गरेपछि त्यसको कार्य सञ्चालनका लागि छुट्टै टोली बनाइनेछ । केन्द्रीय समितिलाई आयोजक समितिमा रूपान्तरण गरेपछि जिल्ला समितिलाई समेत आयोजक समितिमा रूपान्तरण गरिनेछ । पदाधिकारीको विघटन गरेपछि त्यसमा रहेका सबै सदस्यहरू स्वतः केन्द्रीय सदस्यमात्रै रहनेछन् ।

पार्टीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले गत साल विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनपछि निर्वाचित भएको पोलिटब्युरो, स्थायी समिति र पदाधिकारीलाई अस्वीकार गर्नुभएपछि एमाओवादीभित्र विवाद बढेको थियो ।

पार्टीको साङ्गठनिक र वैचारिक विवादलाई हल गर्दै आगामी एक वर्षभित्र विशेष महाधिवेशन गर्ने र अरू माओवादी घटकसँग पार्टी एकताको वातावरण बनाउने गरी नीति तथा कार्यक्रमसमेत अगाडि सार्ने सो पार्टीले तयारी गरेको छ ।

एमाओवादीको पदाधिकारीमा अध्यक्ष प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा, सचिव गिरिराजमणि पोखरेल, कोषाध्यक्ष हरिबोल गजुरेल रहनुभएको छ । वरिष्ठ नेता डा बाबुराम भट्टराई र अर्का सचिव टोपबहादुर रायमाझीले आफूहरू केन्द्रीय सदस्यका रूपमा मात्रै बैठकमा सहभागी हुने भन्दै पदाधिकारी बैठकमा सहभागी हुनुभएको थिएन ।

तपाईको प्रतिक्रिया