शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सल्लाहकार जयदेव रानादेले नेपालका मिनेन्द्र रिजालसहित तीन मन्त्रीहरूलाई चीनीयाँ एजेन्ट भएको आरोप लगाएका छन् ।
भारतीय सुरक्षा सल्लाहकार परिषद्का सदस्य समेत रहेका रानादेले मिनेन्द्र रिजालसहित तीन जना मन्त्रीहरू प्रो-बेइजिङ भएको र मोदीको लुम्बिनी भ्रमण रोक्नका लागि भूमिका खेलेको आरोप लगाएका छन् । मिनेन्द्र रिजाल सन् २०१२ मा संस्कृती मन्त्री हुँदा देखी नै चीनको एजेन्टका रूपमा रहेको बताएका छन् ।
सन् २०११ मार्चमा चीनीयाँ पिपुल्स लिबेरेशन आर्मी(पिएलए)का प्रमुख चेन बिग्दे नेपाल आउँदा उनलाई नेपाल आर्मीका मानार्थ प्रमुखको उपाधी दिइएको भन्दै उनले यो उपाधी मात्र भारतीय आर्मी प्रमुखले मात्र पाउने बताएका छन् । यसले भारतको नेपालमा रहेको प्रभावलाई कम गर्ने चीनको चाहना रहेको देखाएको उनको तर्क छ ।
नेपाल भ्रमण गर्ने चिनियाँ पिएलएका जेनेरल चेन बिग्दे पहिलो सेना प्रमुख हुन् । यसकारण सो भ्रमण महत्वपूर्ण थियो र उक्त भ्रमणले चीनले नेपाल चीनबीच कुनै पनि अन्य मुलुक आएको हेर्न नचाहने सन्देश दिएको उनको दाबी छ ।
चीनको लगानीमा रहेका केही गैरसरकारी संस्था र चिनियाँ कम्युनिष्ट पार्टीको लगानीमा खोलिएका संगठनको प्रयोग गरेर नेपालका केही नेताहरूले लुम्बिनीमा चीनको प्रभाव बढाउन लागि परेको आरोप रानदेले लगाएका छन् । उनले नेपाल पाकिस्तानसँग मिलेर चीनले भारतविरुद्ध घेराबन्दी गर्ने सोच बनाएको समेत उनको दावी छ । उनले अब दिल्लीले चीनसँग नेपालले बडाएको यस्तो सम्बन्धलाई टुलुटुलु हेर्न नहुने भन्दै नेपाललाई चेतावनी दिनुपर्ने सुझाव समेत दिएका छन् ।

किन रोकियो मोदीको लुम्बिनी भ्रमण ?
‘सेन्टर फर चाइना एनालाइसिस एण्ड स्ट्राटेजी’का अध्यक्ष समेत रहेका उनले नेपालमा चीनको बढ्दो प्रभावका कारण प्रधानमन्त्री मोदीको लुम्बिनी लगायत अन्य धार्मिक स्थलको भ्रमण रोकिएको बताएका छन् । मोदीको लुम्बिनी भ्रमणको विषयलाई लिएर नेपालका केही राजनीतिक पार्टीको विरोध गरेकाले मोदीको भ्रमण हुन नसकेको उनको भनाई छ । यसअघि भारतले मोदीको व्यस्तताका कारण मोदीले भ्रमण नगर्ने बताइएको थियो । तर, श्रीलंकाका राष्ट्रपति महिन्दा राजपाक्षेले भने सहजै लुम्बिनी भ्रमण गरेको विषय पनि उनले सण्डे-गार्डियनमा लेखेको लामो लेखमा बताएका छन् ।
केही वर्षदेखी चिनियाँहरूले लुम्बिनीप्रति निकै चासो देखाइरहेको र उनीहरूले लुम्बिनीको विकासका लागि ३ बिलियन अमेरिकी डलर खर्च गर्ने योजना समेत बनाएको बताएका छन् । उक्त योजनामा लुम्बिनीको विकास गर्ने, विमानस्थलको निर्माण गर्ने र अन्य संरचना विकास गर्ने रहेका छन् । यस्तै, चीनले तिब्बतदेखि लुम्बिनीसम्म रेलमार्गको विकास गर्ने योजना पनि बनाइरहेको र यसका लागि चीनले सर्वेक्षण समेत गरिरहेको बताएका छन् । उक्त सर्वेक्षण चिनियाँ सेनाका इन्जिनियरहरूले गरेको उनको भनाई छ । उनले रेलमार्गले चीन-नेपाल-भारतबीचको सम्बन्धमा समेत परिवर्तन ल्याउने बताएका छन् ।
जयदेव रानादे भारतीय राष्ट्रिय सुरक्षा सल्लाहाकार परिषद्का सदस्य हुन् र ‘सेन्टर फर चाइना एनालाइसिस एण्ड स्ट्राटेजी’का अध्यक्ष पनि हुन् ।

तपाईको प्रतिक्रिया