शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं – नेकपा–माओवादीबाट छुट्टिएको नेत्रविक्रम चन्द समूहले प्रमुख दलहरूबीच भएको बाह्रबुँदे सहमति, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौतालाई पूर्णरुपमा कार्यान्वयन गर्न सरकारमा रहेका दलहरूलाई आग्रह गरेको छ ।

माओवादी शक्तिलाई कम आँक्ने, राजनीतिक प्रक्रियाबाट बाहिर धकेल्ने र जनतालाई अधिकार नदिने प्रवृत्ति तत्काल त्याग्न र सहयात्रीको रुपमा व्यवहार गर्नसमेत अनुरोध गरेको छ ।
राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नवगठित नेकपा माओवादीका संयोजक चन्दले नेपाली काँग्रेसले विगतको सहमति तथा सम्झौतालाई लत्याएर आफूखुसी चल्न खोजेका कारण जनताको अधिकार संरक्षित हुन नसकेको आरोप लगाउनुभयो ।
उहाँले जनयुद्धको मर्म र भावनालाई लत्याइएको, गणतन्त्र र परिवर्तनको प्रक्रियालाई स्वीकार नगरेर एकलौटीरुपमा काँग्रेस र नेकपा (एमाले) चल्न खोजेको र माओवादीलाई केवल अपराधिक समूहको रुपमा मात्रै चित्रण गर्न खोजेको भन्दै सो गल्ती सच्याउन तथा सहयात्रीको व्यवहार गर्न आग्रह गर्नुभयो ।

आफूहरू तत्कालै सशस्त्र संघर्षमा जान नचाहेको स्पष्ट पार्दै उहाँले आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने कुरा राज्यको व्यवहारमा भर पर्ने बताउनुभयो ।

संयोजक चन्दले भन्नुभयो – ‘हामी तत्कालै हतियार उठाउने पक्षमा छैनौ, तर जनताले अधिकार पाउनुपर्छ र विगतमा भएका सहमति र सम्झौताका आधारमा राज्यका हरेक अंगमा सहभागिता र सहअस्तित्वलाई आत्मसात् गरिनुपर्दछ । त्यसो हुन नसके विद्रोह गर्नुको विकल्प रहँदैन ।’’
उहाँले आफूहरूको उद्देश्य जनतालाई अधिकार सम्पन्न बनाउने भन्दा अरु केही नभएको भन्दै शान्ति सम्झौतालाई खेलाँची नठान्न र त्यसलाई पूर्णरुपमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।
जनतासँग विगतमा गरेको प्रतिबद्धताबाट एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य तथा नेपाली काँग्रेस र नेकपा (एमाले) का नेताहरू कोही पनि भाग्न नपाउने उहाँको कथन थियो ।
सो पार्टीले संविधानसभा विघटन गरी सर्वपक्षीय राष्ट्रियसभाको आयोजना गर्न मागसमेत गरेको छ । विद्यमान संविधानसभाले जनताको पक्षमा संविधान दिन नसक्ने भएकाले त्यसको कुनै औचित्य नभएको र आफूहरूलाई संसदीय व्यवस्थासमेत स्वीकार्य नभएको सो पार्टीले स्पष्ट पारेको छ ।

सो पार्टीले आगामी पुस २३ गतेदेखि २६ गतेसम्म प्रथम राष्ट्रिय सम्मेलन गर्ने र जनजीविकाको पक्षमा दबाबमूलक आन्दोलन गर्ने जनाएको छ । सो पार्टीको संयोजकमा चन्द र प्रवक्तामा खड्गबहादुर विकलाई चयन गरेको जनाइएको छ । यस्तै सो पार्टीको केन्द्रीय समितिमा धर्मेन्द्र बाँस्तोला, ईश्वरी दाहाल, चिरन पुन, पूर्व राज्यमन्त्री पदम राई, सन्तोष बुढामगर, तिलक परियारलगायत हुनुहुन्छ । आफूहरूले पार्टीलाई क्रान्तिकारी बनाउन र जनताको पक्षमा गरेको आग्रहलाई अस्वीकार गरेका कारण मोहन वैद्यले नेतृत्व गरेको पार्टीसँग सम्बन्ध विच्छेद गरेको जानकारी गराइएको थियो । ***

तपाईको प्रतिक्रिया