शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

नेपालगन्ज – लामो समयदेखि नेपालगन्जवासीको सपनाको रुपमा रहेको चक्रपथ (रिंगरोड) निर्माणका लागि पहिलो पटक सरकारले २ करोड २० लाख रुपैया बजेट बिनियोजन गरेको छ ।
सरकारले पहिलो पटक बजेट विनियोजन गरिदिएपछि नेपालगन्जमा रिंगरोड निर्माणको काम छिटै शुरु हुने जिल्ला विकास समिति बाँकेले जनाएको छ ।
जिल्ला विकास समिति बाँकेका अनुसार बजेट वक्तव्य मार्फत रातो किताबमै नेपालगन्ज चक्रपथ निर्माण योजनामा २ करोड २० लाख रुपैयाँ बजेट छुट्याइएर समाविष्ट गरेपछि कार्यान्वयनका लागि पहल शुरु गरिएको छ ।

चक्रपथ निर्माण कार्य कसरी अगाडी बढाउने भन्ने कुराको निक्र्यौल गर्न विभिन्न सरोकारवाला निकायका इन्जिनियर सम्मिलित ५ सदस्यीय प्राविधिक समिति समेत गठन गरिएको बाँकेका स्थानीय विकास अधिकारी जिवलाल भुषालले बताए । उनले प्राविधिक समितिले योजनाको रेखांकन लगायत अन्य बिभिन्न स्टीमेटसहतको प्रतिवेदन बुझाएपछि काम तिव्र रुपमा अगाडी बढाउने बताए । ‘बजेट अनुसारको कभरेज एरिया निर्क्यौल गरेर छिटै काम अगाडी बढाइने छ’, स्थानीय विकास अधिकारी भुषालले भने, पहिलो चरणमा जिविस र सडक डिभिजन कार्यालयमा संयुक्त बैठक बसेर योजनाको खाका बनाइएको छ ।’

स्थानीय विकास अधिकारी भुषालले बिस्तृत अध्ययन गरेर तत्काल काम सुरु गर्ने कुरामा जनप्रतिनिधिहरु समेत अग्रसर भएको जानकारी दिएका छन् । सो सम्बन्धमा आयोजना गरिएको पहिलो बैठकमा सभासद्हरु दिनेशचन्द्र यादव, मैकुलाल वाल्मिकी र बादशाह कुर्मी समेत सहभागी रहेको जनाउदै उनले सभासदहरुबाट समेत राम्रो सहयोगको आश्वासन प्राप्त भएको जनाए ।
बैठकमा सहभागि नेपाली काँग्रेसका सभासद मैकुलाल वाल्मिकीले नेपालगन्जको बढ्दो जनसंख्यालाई हेरेर रिंगरोड अति आवश्यक रहेको ठानेर नै रातो किताबमा योजना पारेर बजेट छुट्याईएको बताए । ***

तपाईको प्रतिक्रिया