शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं- मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीबाट चोटिएको नेत्रविक्रम चन्द (विप्लव) को नयाँ समूहले नेपाली काँग्रेसलाई मुख्य दुष्मन मान्ने भएको छ ।
नयाँ पार्टी बारे जानकारी दिन राजधानीमा आयोजित कार्यक्रममा नयाँ पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले तत्काल नेपाली काँग्रेसलाई आफ्नो पार्टीले प्रमुख दुष्मन मानेको जानकारी दिए । ‘नेपाली जनताकै प्रमुख दुष्मन अहिले नेपाली कांग्रेस हो ।

यो साम्राज्यवादी विस्तारवादी शक्तिको गोटीका रुपमा भूमिका खेलिरहेको छ ।’ बास्तोलाले भने, ‘कांग्रेसले नै देशलाई माफियाकरण गर्दै लगेको छ । जनयुद्धको शक्तिले राजतन्त्र अन्त्य गरेको र गणतन्त्र स्थापना गरेको राजनीतिक शक्तिलाई विस्थापित गराउने र अपराधीकरण गराउने काम कांग्रेसले नै गरायो ।’
केही दिन अघि नयाँ पार्टी खोलेको विप्लव समूहले नयाँ पार्टीको नाम पनि नेकपा (माओवादी) राखेको छ । विप्लव समूहले पुस २३ देखि २६ गतेसम्म सम्मेलन बोलाएको छ । विप्लवको संयोजकत्वमा गठित आयोजक समितिको प्रवक्ता खड्गबहादुर विश्वकर्मा छन् ।
विप्लव समूहमा को-को ?
खड्गबहादुर विश्वकर्मा, इश्वरी दहाल, धर्मेन्द्र बास्तोला, तिलक परियार, अनिल शर्मा, चिरन पुन, सन्तोष बुढा, कृष्ण अधिकारी, तेजबहादुर मिजार, बाबुराम मिजार, पूर्व सभासद पदम राई र शरतसिंह भण्डारी ।

तपाईको प्रतिक्रिया