Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

बाल्यकालमा डिज्नी आवर भन्दै नेपाली, इण्डियन तथा अन्य विभिन्न टेलिभिजन च्यानलहरुबाट कार्टुन/एनिमेशन हेर्ने गरेको सायद धेरैको मनमा ताजै छ होला । जसमा हाँस तथा मुसालाई विभिन्न क्यारेक्टरमा देख्न सकिन्थ्यो । त्यस्तै गरी विभिन्न राजकुमार तथा राजकुमारीको दन्त्यकथामा आधारित एनिमेशन पनि हाल डिज्नी च्यानलकै नामबाट विभिन्न भाषामा प्रसारण हुने गरेका छन् । त्यस्तै हुबहु संरचनामा सन् १९५५ जुलाइ १७ देखि युनाइटेड स्टेटको क्यालिफोर्नियामा सञ्चालित डिज्नील्यान्ड पार्क संसारमै घुम्नलायक पार्कको रुपमा चिनिन्छ । त्यसपछि आएर युनाइटेड स्टेटपछि पहिलो पटक सन् १९८३ अप्रिल १५ मा स्थापित जापानको डिज्नील्यान्ड जापानको घुम्नलायक ठाउँ मध्यको एक हो । ४ लाख ६५ हजार मिटर स्क्वायर क्षेत्रफल ओगटेको यो पार्क जापानको चिवा प्रिफेक्चर र टोकियो-चिवाको सीमा क्षेत्रमा पर्दछ । यस पार्कको फराकिलोपन एक महत्वपूर्ण विशेषतामा पर्दछ । यस पार्कमा वर्ल्ड बजार, एड्भेञ्चरल्याण्ड, वेष्टर्नल्याण्ड, फ्यान्टासील्याण्ड, टुमारोल्यान्ड, क्रिटर कन्ट्री र मिक्कीज ट्वीन टाउन गरी ७ प्रकारका विशेष स्थानको संरचना गरिएको छ । डिज्नील्यान्ड पार्क विशेष गरी कल्पनामा आधारित स्थान हो । जहाँ दन्त्यकथामा भनिएका अनि सुनिएका स्थान तथा वस्तुस्थितिको अवलोकन गर्न पाउँछौं ।

वर्ल्ड बजार
यस पार्कको मुख्य प्रवेशद्वार तथा गल्ली भनेको नै वर्ल्ड बजार हो । ‘वर्ल्ड’ भनिए पनि यहाँको वस्तुस्थिति भने अमेरिकाको २० औं शताब्दीको मुख्य सडक तथा जादुमय राज्यशैलीको पार्कजस्तो निर्माण गरिएको छ । जहाँ मेन स्ट्रिट र सेन्टर स्ट्रिट गरी विशेष २ किसिमको अद्भुत सडकको स्थापना गरिएको छ । आगन्तुकहरुलाई त्यहाँको अद्वितीय वस्तुबाट जोगाउनका लागि ती सडकहरुमा स्थायी किसिमको डिजाइन कुँदिएको छ ।

एड्भेन्चरल्याण्ड
एड्भेन्चरल्यान्ड अर्थात साहसिकभूमि जहाँ वाल्ट डिज्नी कम्पनीद्वारा संसारका अन्य देशमा झैं यहाँ पनि डिज्नील्याण्ड शैलीमा वस्तुस्थिति तयार पारिएको छ । डिज्नील्याण्ड पार्कको यो भागमा अफ़्रिका, एशिया, दक्षिण अमेरिकामा रहेका दुर्लभ जंगलको हुबहु संरचना तयार पारिएको छ । त्यहाँको मुख्य आकर्षण भनेको पिराट्स अफ क्यारिवियन हो, जहाँ १५ मिनेट डुंगा सयरको क्रममा देखिने विभिन्न भयानक सामुद्रिक डाँकुहरु अनि स्वचालित कठपुतलीमार्फत डरको दुनियामा पुगेको भान हुन्छ । अर्को आकर्षण जंगल क्रुज अर्थात जंगल सफारीमा १० मिनेट डुंगा सयरको क्रममा जंगलमा भएका हात्ती, गोहीजस्ता विभिन्न वन्यजस्तुको अवलोकन गर्न सकिन्छ । त्यस्तै १५ मिनेटको समयमा धुवांबाट चल्ने रेलयात्रा गर्न सक्छौं । यसक्रममा पुराना ऐतिहासिक गाउँ तथा राता हिमाल पहाडको रोमाञ्चक दृश्यको अनुभव लिन पाउँछौं । त्यस्तै स्विस फेमिली, टिकी रुम पनि यहाँको आकर्षक स्थल हुन् ।

वेष्टर्नल्याण्ड
यो भागमा पुराना पश्चिमा मुलुकको चित्रण गरिएको छ । जहाँ रहेको शुटिङ ग्यालरीमा हामी पनि भाग लिइ बन्दुकले टार्गेट गरे अनुसारको काम पुरा भएमा स्कोरको आधारमा सिल्भर र गोल्ड डोनाल्ड्स् ब्याज हासिल गर्न सकिन्छ, जुन डिज्नील्यान्डको सम्झनाको रुपमा पनि हामी पछिसम्म हेर्न सक्छौं । विभिन्न मौसमअनुसार मञ्चमा प्रसारण गरिने भालुका हास्यास्पद कलाकारिताले हरेकलाई रोमाञ्चित बनाउँछ । तर भालु साँचो भालु नभएर त्यसको कठपुतली मात्र हो । यदि तपाइको मुटु दह्रो छ, डर कमै लाग्छ भने यहाँको बिग थण्डर माउण्टेनको मज्जा भरपुर मात्रामा लिन सक्नुहुन्छ । मात्र ४ मिनेट रेल सवार गरी कहालीलाग्दो गतिमा राता हिमालको फेदटुप्पो पुग्न सकिन्छ । मात्र यति समयमा रेलले यस्तो काल्पनिक जंगली पंक्षी, छाँगा-छहरा तथा अद्भुत स्थानमा पुर्‍याउँछ की यसको बयान नै गर्न सकिदैन । त्यस्तै ठूलो मुढामा चढी अमेरिकन नदीको बिचमा रहेको टापु र त्यहाँका बस्तीमा पुगेको भान गराउने टम सयर टापु र्‍याफ्ट, मार्क ताइवान रिभरबोट पनि यहाँको आकर्षक खेल हुने स्थल हुन् ।

फ्यान्टासील्याण्ड
डिज्नील्याण्ड पार्कका हरेक वस्तुस्थिति काल्पनिक त्यस माथि पनि अकल्पनिय छन् । भयानक डरलाग्दोदेखि लिएर मनोरम प्राकृतिक छटाको पनि आनन्द लिन सक्छौं । डिज्नील्यान्ड पार्क फ्यान्टासील्यान्डमा भूत-प्रेतात्मा महल रहेको छ, जहाँको भ्रमण टाउको बिनाको मान्छे, नाच्दै गरेको टाउको, अस्थिपञ्जर, आफै चलेको पियानोजस्ता दृश्यले पर्यटकको रौ नै ठाडो पार्ने, असिना पसिना बनाउने अवस्था नै सिर्जना हुने गर्छ । अर्को महल भनेको परीको कथामा सुन्ने गरेको राजकुमारी सिण्डेरेलाको महल जहाँ उनको काल्पनिक जीवनलाई जिवन्त रुपमा प्रस्तुत गरिएको छ । कथामा भनिए झैं महलका वस्तुस्थिति, कलाकार जिवनशैलीको अवलोकन गर्न सकिन्छ । हामीले हेर्ने सुन्ने गरेको कथा एनिमेशनका पात्र तथा वस्तुस्थितिको विभिन्न स्थानमा विभिन्न रुपमा प्रत्यक्ष्य अनुभव गर्न सक्छौं । यस्ता हरेक स्थानको वर्णन गरी नसक्नुको निकै बृहत किसिमको पार्कको रुपमा डिज्नील्यान्ड पार्क चिरपरिचित छ । जहाँ खेल तथा मनोरञ्जनका प्रशस्तै स्रोत-साधन भएकाले बालबालिकाका लागि यो पार्क विशेष भएता पनि युवायुवतीदेखि उमेर ढल्केका आन्तरिक तथा बाहृय पर्यटकहरुको आगमनमा समेत कुनै कमी छैन ।

गत वर्ष ८७ लाख जनाले अवलोकन गरिसकेको टोकियो डिज्नील्यान्ड पार्क पर्यटक संख्याको आधारमा विश्वमा चौंथो श्रेणीमा पर्न सफल भएको छ । पार्कमा प्रायः गरेर मौसमअनुसार मात्र नभएर विभिन्न चार्डपर्वका अवसरमा विशेष खेल, नाचगान, नाटकजस्ता मनोरञ्जनात्मक क्रियाकलाप प्रदर्शन हुने गर्दछ । सोही अनुसार हलोइन पर्वको अवसरमा यही सेप्टेम्बर ८ तारिखदेखि अक्टुबर ३१ तारिखसम्म ‘डिज्नी हलोइन’ नामक विशेष इभेन्ट हुने भएको छ । चिवा केनको उरायासु सिटीको माइहामामा अवस्थित टोकियो डिज्नील्यान्ड पार्क पर्यटकको लागि बिहान ९ बजेदेखि बेलुका १० बजेसम्म खुल्ला हुने गर्दछ । पार्कको प्रवेश शुल्क भने व्यक्तिको उमेर, समुह र व्यक्तिसंख्या र समयको आधारमा ३ हजार ५ सयदेखि ८२ हजार येन सम्म लाग्ने बताईएको छ ।

कल्पना र सपनाको दुनियाको साक्षीको रुपमा नीर्मित भन्न सुहाउने डिज्नील्यान्ड पार्क विश्वप्रसिद्ध छ । जहाँ १ दिनले घुमेरै पुग्दैन त्यहाँको वातावरणले रनभुल्लै बनाइदिन्छ भन्नेहरु अबको भ्रमण फेरी पनि टोकियो डिज्नील्यान्ड पार्कमा नै गर्छु भन्नेहरुको कमी छैन ।  तस्विर : एजेन्सी
1 2 3 4 5 6 7 8 9 10

तपाईको प्रतिक्रिया