अछाम- सदरमुकाम मंगलसैन गाविस ५ की कविता विकले आइतबार राम्रोसँग खाना खानसमेत पाइनन् । उनका देवरहरूले बिहानदेखि बेलुकासम्म पटकपटक सिस्नो लगाए । बिहान उठ्नेबित्तिकै धारामा नुहाउन जाँदा उनका देवरले सिस्नो लगाउन थालेका हुन् । तर उनले देवरसँगको कुनै रिसइबिका कारण सिस्नो खानुपरेको भने होइन । यहाँ मनाइने परम्परागत बिसु तिहारका अवसरमा देवरले भाउजूलाई यसरी सिस्नो लगाउने गर्छन् । कवितामात्र हैन गाउँका अधिकांश महिला नयाँ वर्षको सन्दर्भमा बिसु पर्वका दिन एकआपसमा सिस्नो लगाउन र प्रतिकार गर्न व्यस्त देखिन्थे । जसका धेरै देवर तथा नन्द हुन्छन्, ती महिलाले सिस्नोको मार बढी खेप्नुपर्ने हुन्छ । बिसु तिहारमा सिस्नो लगाउने परम्परा पहिलेदेखिकै रहेको छ । यो परम्परा सुदूरपश्चिमका सातवटा पहाडी जिल्लामा छ । देवरभाउजू, नन्दभाउजू र सालीभिनाजुहरूले एकआपसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइन्छ । देवर नहुने र नन्द नहुने भाउजू, भाउजू नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैंले भए पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा छ । बिसु पर्वको दिन शरीरमा सिस्नो लाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास रहेको बस्ती ६ की सरस्वती जैसी बताउँछिन् । बिसु तिहारमा महिलाहरूले पुतला नाच खेल्ने रा पुरुषहरूले बिसु बाघ बनाएर दौडाउने गर्छन् । केही दिनपहिलेदेखि नै अछाम, बाजुरालगायत जिल्लाका गाउँमा महिलाले पुतला खेल सुरु गरेका थिए । बिसु तिहारकै दिन कुलदेवताको पूजा गरी ‘गतानी डुब्का’ (स्थानीय खानाको परिकार) पकाएर खाने चलन छ ।***
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार