काठमाडौं- बुढीगण्डकी नदी तर्ने क्रममा तुइनबाट झरेर बेपत्ता भएका एक व्यक्तिको ४३ वर्षपछि पुनः काजक्रिया गरिएको छ । गोरखाको उइचास्थित प्रहरी चौकीमा कार्यरत ललितपुर लामाटार-१ निवासी प्रहरी हवल्दार बलराम रिमाल घर आउने क्रममा ०२८ असार २९ मा बूढीगण्डकी नदीको तुइनबाट खसेर बेपत्ता भएका थिए ।
नदीमा खसेपछि बेपत्ता रिमालको शव फेला नपरेपछि उनको आत्माको शान्तिका लागि आफन्तले सोमबार कुश र जौको पिठोको प्रतिरुप शव बनाई अन्त्येष्टि गरेका हुन् ।
वर्षेभेल उर्लेको बुढीगण्डकीमा खसेका रिमालको खोजीमा कसैले आँट गरेनन् । सञ्चार तथा यातायातको सुविधा नभएको त्यो बेला रिमाल बेपत्ता भएको ११ दिनपछि मात्र घरपरिवारले खबर पाएका थिए । शव फेला नपरे पनि मृत्यु भएको यकिन भएपछि १७ औँ दिनबाट उनको काजक्रिया सुरु गरिएको थियो ।
दुई छोरा र एक छोरीकी आमा कृष्णकुमारीले पतिको मृत्युपछिको ४३ वर्षको अवधिमा हुर्काएका छोराछोरीले प्रगति गरेपनि शारीरिक र मानसिक शान्ति नपाएको बताइन् । डोटीको राजपुरनिवासी एक माताको सुझावमा पतिको मृत्यु भएको स्थानबाट ल्याइएको माटोसहित कुश र जौको पिठोबाट शव बनाएर जलाइएको कृष्ण्कुमारीले बताइन् ।
कमाइ राम्रै भए पनि घरमा कहिल्यै शान्ति नहुने, पति प्रायः बिरामी भइरहने, आफूले मात्र होइन घरमा भाडामा बस्ने व्यक्तिलाई पनि तर्साउने गरेको गरेकाले दिपायलमा नेपाली सेनामा कार्यरत छिमेकीको सहयोगमा पति रामेश्वरलाई मातालाई देखाउन पठाएको मृतककी जेठी बुहारी सरस्वतीले बताइन् ।
पहिला १२ दिन काजकिरिया गरेकाले माताकै सुझावबमोजिम पर्णशरदाह (मृतकको प्रतिरुप बनाएर गरिने दाह), अष्टशक्ति पूजा, सत्येश पूजा, पञ्च श्राद्ध, एकादश श्राद्ध र हवन गर्दै कुश र जौको पिठाको शव बनाएर दाहसंस्कार गरिएको छोरा रामेश्वरले बताए ।