काठमाडौं– हृदयाघातका कारण आइतबार राति निधन हुनुभएका साहित्यकार क्षेत्रप्रताप अधिकारीको पार्थिव शरीर मङ्गलबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरिने भएको छ ।
धोबीघाटस्थित नेपाल कलेज अफ म्यानेजमेन्टमा बिहान श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरी शव हस्तान्तरण गरिने उहाँको पारिवारिक स्रोतले जनाएको छ । अधिकारीको आइतबार राति गङ्गालाल हृदय रोग केन्द्रमा निधन भएको थियो । अधिकारी पञ्चायतकालमा शिक्षा सहायकमन्त्री पनि हुनुभएको थियो ।
विसं १९९९ मा तनहुँको मिर्लुङमा जन्मनुभएका ७२ वर्षीय अधिकारीका ‘म त लालीगुराँस भएछु…’ लगायत चर्चित गीत छन् । उहाँका ‘रहर लागेर’, पहाडदेखि पहाडसम्म’, फेरि एउटा परिवर्तन’, ‘तर देश रोइरहेछ’ आदि कृति प्रकाशित छन् । अधिकारीका गीतलाई नारायणगोपाल, बच्चुकैलाश, कुन्ती मोक्तान, रामकृष्ण ढकाल आदिले सङ्गीत र स्वरबद्ध गर्नुभएको छ ।
उहाँको इच्छाअनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई शव प्रदान गर्न लागिएको र काजक्रिया पनि नगरिने पारिवारिक स्रोतले जनाएको छ । आज उहाँको शव अस्पतालमै राखिएको छ । भेटघाटमा लागि आउने आफन्त उहाँको निवासमा पुगेका छन् । अधिकारीका दुई छोरा छन् ।
यसैबीच नेपाल पत्रकार महासङ्घ, तराई टेलिभिजन (टिटिभी) प्रतिष्ठान शाखाका अध्यक्ष अशोक रेग्मीले आज प्रेस विज्ञप्ति जारी गरी सो टेलिभिजनका कार्यकारी निर्माता अमनप्रतापका पितासमेत रहनुभएका क्षेत्रप्रतापको निधनमा समवेदना व्यक्त गर्नुभएको छ ।