हरेकका लागि नयाँ वर्ष नयाँ आशा लिएर आउछ । प्राय हामी नयाँ वर्षमा नयाँ योजना बनाउछौ । गत वर्षमा नमिलेका कामहरु यो वर्षमा मिल्छ कि भन्ने आशा गरीरहेका हुन्छौ । हाम्रो जीवनमा नयाँ वर्षले नयाँ आशा लिएर आएको हुन्छ । वास्तवमा आशै आशले त जिन्दगीलाई डोराएको हुन्छ । हरेक वर्ष कोठाको भित्तामा ठोकेको किलालाई पनि दशैं आउछ र नयाँ क्यालेन्डर धारण गर्छ । यो वर्ष पनि किलाको दशै आइनैसकेको छ । तपाईं हामी किलाको लागि नयाँ बस्त्र खरिद गर्न हतारिदै छौ । एक एक महिना गरी क्यालेन्डरलाई क्रमै सँग पल्टाउदा ३६५ दिन बितिसक्छ । समय कति छिट्टै बित्छ दिन रात गरी निरन्तर निरन्तर । हामी आफ्नो कामलाई भोलि सार्न सक्छौ तर भोलिलाई आज र आजलाई हिजो बनाउने तागत त्यो घडि बनाउने महान बैज्ञानिकसंग पनि छैन । सेकेण्ड, मिनेट र घण्टा गर्दै दिन, हप्ता, महिना, वर्ष बित्छ । सेकेन्ड होस् या वर्ष गन्ती एक बाटै सुरु हुन्छ तर युगौ बितिसकेको छ र बित्छ पनि ।
वाल्यपनको सम्झना गर्छौ तर हामी पुरा त्यो दिन फर्काउन सक्दैनौ । हामी जन्मिएदेखिनै त्यो घडी जहाँको त्यही छ तर समय कहाँ पुगिसक्यो त्यो कसैले भन्न सक्दैन । वर्षै पिछे हामी एक आपसमा शुभकामना आदानप्रदान गर्छौ । यो वर्षले तपाईंको जीवनमा प्रगतीको मुल फुटाओस, स्वास्थ राम्रो होस्, नयाँ जोस र जागरले तपाईंका पाहिलाले गति लियोस आदि इत्यादी । नयाँ वर्ष एउटा उत्सव पनि हो । नयाँ वर्षमा हामी एक आपसमा रमाइलो गर्नुका साथ साथै हामीले गत वर्ष सम्म अंगालेका कुलतलाई नयाँ वर्षदेखि छोड्दै आएका पनि छौ । नयाँ वर्षको अघिल्लो दिननै काठमाडौं लगायतका सहरहरुमा न्यू एयर इभ मनाइन्छ । इभको दिन साथीभाई सँग रमाइलो गर्दै नयाँ वर्षलाई स्वागत गरिन्छ । हामी चैत ३० गते राती १२ बजे पुरानो वर्षलाई बिदा गर्दै नयाँ वर्षको उल्लासमा रमाउने गर्छौ ।
जीवनमा मैले के गरे ? यत्रो समय मैले के मा खर्चिए ? समय त बित्दै जान्छ तर कतै मेरो कुनै काम त बाँकी रहेको छैन ? सोच्दै छु जीवनको बाँकी समय कहाँ लगानी गर्ने भनेर ? प्रश्न नै प्रश्न छन । शून्य उप्लब्धीमा जीवन खर्चिनु त भएन नि । घर, समाज देखि देश बनाउन मेरो तर्फबाट गर्नुपर्ने काम पनि त होलान ? मैले नेतालेजस्तो गफ दिएर यो बहुमुल्य समय खर्चनुहुन्न । नेतालाई जिव्रोले दिएर पठाउनेले समयको बर्वाद गर्न मात्रै होइन घर, समाज र देशकै बर्वाद गर्न पठाएका हुन कि जस्तो लाग्छ । काम गर्नेहरु गफ गरेर समय खेर फाल्दैनन, कामलाई नै समय दिन्छन र समयको सदुपयोग गर्छन् । समय छंदैछ किन हतार भनेर बस्नु बेकार छ । एक वर्षमा संबिधान बनाउछु भन्ने सरकारले कहिले देखिको समयलाई मापन गरेर भनेको हो त्यो बुझ्न अझै सकिएको छैन । समयमै स्थानिय निर्वाचन पनि गराउंछौ भन्थ्यो सरकार खै त निर्वाचनको समय कहिले आउंछ । समयलाई राजनीति गर्ने दल र सरकारले बुझीदिए देशले पनि समयमै बिकासको गति लिन्थ्यो । देश बिकासको मार्गमा हिंड्न थालेपछि जनताले पनि समयलाई क्यास गर्ने पौका पाउछन । जे काम पनि समयमै भो भने बिकास हुन बेर लाग्दैन । बिना प्रगतीको क्यालेन्डर वर्षैपिछे फेर्दैमा र हरेक वर्ष जति नै शुभकामना दिए पनि केही हुनेवाला छैन । जब सम्म समयको मत्लब बुझिन्न तव सम्म ब्यक्ति, समाज र देशको अनुहार फेरिन्न । ***