काठमाडौं – आजदेखि विक्रम संवत २०७० सकिएर २०७१ साल सुरु भएको छ । पूरानो वर्षको बिदाई र नयाँ वर्षको स्वागतमा गएराति राजधानीसहित देशभर विभिन्न कार्यक्रम गरिएका छन् ।
नयाँ वर्ष २०७१ सालको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्रीसहित विभिन्न दलका शीर्ष नेताले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।
शुभकामना सन्देशमा राष्ट्रपति रामवरण यादवले निर्वाचनको सफलताले जनतामा ल्याएको उत्साहलाई परिणाममुखी बनाउने दायित्व सबैको रहेको भन्दै चुनावी घोषणापत्रमा गरेको प्रतिबद्धताअनुरूप तोकिएकै समयमा संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्यमान्यतामा आधारित नयाँ संविधान जारी गर्नु दलहरुको पहिलो कर्तव्य रहेको बताएका छन् ।
‘जनताले शान्ति र लोकतन्त्रको पक्षमा आफ्नो मत जाहेर गरिसकेका छन् । अब कुनै पनि किसिमको अतिवादले नेपाली जनतालाई आकर्षित गर्न सक्दैन, देशले शान्ति र विकास चाहेको छ हामी सबैको ध्यान यसतर्फ जानु आवश्यक छ’, राष्ट्रपतिले सन्देशमा भनेका छन् ।
उनले प्राप्त उपलब्धिको संरक्षण र सम्बर्धन गर्नका लागि सबै राष्ट्रिय शक्ति एक ठाउँमा आएर जनचाहनाको प्रतिनिधित्व गर्ने नयाँ संविधान निर्माण गर्न सबैलाई सफलता मिलोस् भन्ने कामना गरेका छन् ।
यस्तै उपराष्ट्रपति परमानन्द झाले नेपाली जनताले विगतमा अनवरतरूपमा गर्दै आएको बलिदानपूर्ण संघर्ष र जनआन्दोलनबाट प्राप्त लोकतान्त्रिक उपलब्धिलाई संस्थागतरूपमा सुदृढ गर्नु नै आजको टड्कारो आवश्यकता भएको बताएका छन् ।
प्रधानमन्त्री सुशील कोइरालाले सन्देशमा संविधानसभा निर्वाचनपछि शान्तिपूर्णरूपमा सत्ता हस्तान्तरण भएको तथा संविधानसभा र व्यवस्थापिका–संसद्को बैठक सुचारु भएकाले एक वर्षभित्र संविधान बन्ने आधार तयार भएको उल्लेख गरेका छन् । एक वर्षभित्र नयाँ संविधान निर्माण र शान्ति प्रक्रियाका बाँकी काम पूरा गरी विकास निर्माणमा केन्द्रित हुने भनाइ उनको छ । रासस ***
नयाँ वर्षका अवसरमा शुभकामना सन्देश जारी गर्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपालले चुनौतिको सामना गर्दै सबैमा सकारात्मक सोंचको विकास होस् भन्ने कामना गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले शान्ति, समृद्धि र प्रगतिप्रतिको जनचाहनालाई पूरा गर्ने विश्वासिलो वातावरण निर्माण गर्नु आजको प्रमुख चुनौति हो भन्दै दृढ इच्छाशक्तिका साथ आपसी एकता कायम गर्दै पारस्पारिक सम्मान, सहमति र सहकार्यको बाटामा अगाडि बढ्न सबैलाई नयाँ वर्षले अभिप्रेरित गरोस् भन्ने कामना गरेका छन् ।
एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्ष २०७१ का अवसरमा शुभकामना दिँदै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्दै संविधान निर्माणको कार्यभार पूरा गर्ने काममा सहयोग गर्न राष्ट्रिय जीवनका सबैमा आग्रह गरेका छन् ।
उनले नयाँ बन्ने संविधान पहिचानमा आधारित हुनुपर्नेमा जोड दिएका छन् । ‘पहिचानसहितको संघीयता, सङ्घीयतासहितको संविधान र संविधानसभाबाटै संविधान भन्ने मान्यतामा एमाओवादी पूर्णत: प्रतिबद्ध रहेको छ’, उनको सन्देशमा भनिएको छ ।
नयाँ वर्षले सबैमा भाइचारा, सहकार्य एवम् सकारात्मक सोचको विकास गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना उनको छ ।
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले एक वर्षभित्र संविधान निर्माण गर्ने दलहरुको प्रतिबद्धतालाई भरोसा र विश्वासका साथ एक वर्षमा संविधान दिने दायित्व अब संविधानसभाको भएको उल्लेख गरेका छन् ।
राजनीतिक दल एवम् सम्बद्ध निकायलाई रचनात्मक भूमिका निरन्तर जारी राख्दै २०७१ सालभित्र संविधान निर्माण गर्ने कार्यमा सक्रिय रहन आग्रहका साथ त्यस कार्यमा सफलता प्राप्त होस् भन्ने कामना उनको छ ।
नयाँ वर्षका अवसरमा सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक स्थिरता, कानुनी शासन, अनुशासित समाज र पारदर्शी आथिर्क प्रणाली नै प्रजातन्त्रको सुन्दर पक्ष रहेको बताएका छन् ।
‘सदा स्वतन्त्र, सार्वभौम रहेको नेपाल परनिर्भर अर्थतन्त्रका कारण ओझेलमा पर्ने सम्भावना बढ्दै गएको छ’ ज्ञानेन्द्रले भनेका छन्, ‘आजको आवश्यकता भनेको रचनात्मक राष्ट्रियता र आत्मनिर्भर अर्थतन्त्रसहितको सृजनात्मक मौलिक प्रजातन्त्र नै हो ।’
सन्देशमा उनले ‘आम नेपालीलाई खान, लाउन र घरमा चुल्हो बाल्न कुनै प्रकारको दुख नरहोस’, भनेका छन् । रासस ***