काठमाडौं- तराई मधेस लोकतान्त्रिक पार्टीले पार्टी स्थापना भएको सात वर्ष नाघिसक्दा पनि महाधिवेशन गर्न सकेको छैन । महाधिवेशन गर्न निर्वाचन आयोगले पार्टीलाई चारपटक ताकेता गर्दै चिठी पठाइसकेको छ ।
महाधिवेशन गर्न तालमेपाका नेताले पाँचपटक सम्म तिथि तोक्दै स्थगित गर्दै आएका छन् । सो पार्टी अहिले फोरम नेपाल र सद्भावना पार्टीसँग एकीकरण प्रक्रियामा लागेको छ । पार्टी एकीकरण प्रक्रियामा लागेकाले महाधिवेशनको गृहकार्य नगरेको पार्टीका नेताले बताएका छन् ।
राजनीतिक दलले पाँच वर्षसम्म महाधिवेशन गर्नै पर्ने कानुनी बाध्यता छ । पाँच वर्षभित्र महाधिवेशन गरेको जानकारी निर्वाचन आयोगलाई बुझाउनुपर्ने हुन्छ । तर, तमलोपाले भने एकपटक पनि महाधिवेशन गरेको जानकारी निर्वाचन आयोगलाई गराएको छैन ।
पार्टीका महामन्त्री गोविन्द चौधरी सात वर्षसम्म तमलोपाको महाधिवेशन हुन नसकेको स्विकार्दै महाधिेशनको ताकेता गर्दै निर्वाचन आयोगले पार्टीलाई चारपटक सम्म चिठी पठाएको बताए ।
१३ मंसिर ०६३ मा महन्थ ठाकुर, हृदयेश त्रिपाठी, चौधरीलगायतका नेताले तमलोपा गठन गरेका थिए । फागुन ०६५ मा पार्टीको पहिलो महाधिवेशन गर्ने तयारी नेताले गरेका थिए । तर, तयारी नपुगेको भन्दै ०६५ सालमा महाधिवेशन हुन सकेन ।
त्यसपछि जेठ ०६७ मा महाधिवेशन गर्ने भनियो । त्यो मितिमा पनि महाधिवेशन हुन सकेन । त्यसपछि ०६७ फागुनमा पार्टीका महाधिवेशन गर्ने घोषणा भएर फेरि स्थगित भयो ।