काठमाडौं- पूर्व राजा ज्ञानेन्द्र शाहले आर्थिक विकास नभए नेपालको स्वतन्त्रता र सार्वभौमिकता गुम्ने खतरा रहेको बताएका छन् । उनले परनिर्भर अर्थतन्त्रका कारण नेपाल ओझेलमा पर्ने सम्भावना बढ्दै गएको बताए ।
नयाँ बर्ष २०७१ सालको अवसरमा नेपालीहरुलाई शुभकामना दिदै पूर्व राजा ज्ञानेन्द्र रचनात्मक राष्ट्रियता र आत्मनिर्भर अर्थतन्त्र आजको आवश्यकता भएको उल्लेख गरेका छन् ।
आइतबार जारी गरेको शुभकामना वक्तव्यमा ज्ञानेन्द्रले भनेका छन्, ‘सदा स्वतन्त्र र सार्वभौम रहेको नेपाल आज परनिर्भर अर्थतन्त्रका कारण ओझेलमा पर्ने संम्भावना बढ्दै गएको छ ।
त्यसैले आजको आवश्यकता भनेको रचनात्मक राष्ट्रियता र आत्मनिर्भर अर्थतन्त्र सहितको सृजनात्मक मौलिक प्रजातन्त्र नै हो ।’
उनले शुभकामना वक्तव्यमा आम नेपालीले खान, लाउन र सबैको घरमा चूल्हो बाल्न कूनै प्रकारको दुःख नरहोस् भन्ने कामना गरेका छन् । ***