काठमाडौं -केही समय मत्थर भएको रक्तचन्दन तस्करी फेरि शुरू भएको छ। लामो समयदेखि राजधानीमा रहेको सयौं टन रक्तचन्दन लैजान तस्करहरूले विभिन्न उपाय अपनाउन थालेका छन्।
प्रहरीले रक्तचन्दन तस्करीलाई रोक्न निगरानी बढाउन थालेपछि केही समय रक्तचन्दन तस्करीको घटना सेलाएको थियो। लामो सयदेखि राजधानीमा लुकाई राखिएको रक्तचन्दनलाई जसरी पनि चीनको खासा निकासी गर्न तस्करहरूले विभिन्न उपाय अपनाउन थालेका छन्। प्रहरीले निगरानी बढाएसँगै तस्करहरूले रक्तचन्दनको धूलो बनाएर, माला बनाएर तथा गाडीमा फल्स बटम बनाएर तस्करी गर्ने प्रयासलाई फेरि निरन्तरता दिएका हुन्। विशेष सुराकीको आधारमा फल्स बटम बनाएर लैजाँदै गरेको रक्तचन्दन शनिबार प्रहरीले बरामद गरेपछि चन्दन तस्कर फेरि सक्रिय भएको भेद खुलेको हो।
काठमाडौंबाट बाह्रबीसे जान लागेको ना२ख ३३७५ नम्बरको बसमा लुकाईछिपाई लैजाँदै गरेको करिब ९८ किलो रक्तचन्दन काभ्रे प्रहरीले बरामद गरेको हो। तर गाडी चालक र सहचालकलाई भने प्रहरीले नियन्त्रणमा लिन सकेको थिएन। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी अरुणकुमार बीसीले जानकारी दिएअनुसार शनिबार दिउँसो भुम्लुटार-६ स्थित अरनिको राजमार्गबाट रक्तचन्दन बोकेको उक्त गाडी नियन्त्रणमा लिइएको हो।
‘फल्स बटम बनाएर ११ गोलिया रक्तचन्दन लगिँदै थियो, प्रहरी प्रमुख एसपी बीसीले भन्नुभयो- ‘हामीले पिछा गर्दै थियौं, ड्राइभर र खलासी भागे बस मात्र नियन्त्रणमा लिन सफल भयौं। नियन्त्रणमा लिइएको रक्तचन्दन करिब ९८ किलो भएको उहाँको भनाइ थियो। बस पनि नियन्त्रणमा लिएकाले थप अनुसन्धानपछि तस्करहरूको रहस्य पत्ता लाग्ने भन्दै काभ्रे प्रहरी प्रमुखले रक्तचन्दन तस्करीबारे बृहत् अनुसन्धान गरिने बताउनुभएको छ।
अरनिको राजमार्ग हुँदै रक्तचन्दन तस्करी घट्न थालेसँगै सुन तस्करी बढेको थियो। प्रहरीले केही मात्रामा तस्करी गरेको सुन बरामद गरे पनि पछिल्लो समय सुन तस्करीको भेउ पाउन सकेको छैन। प्रहरी स्रोतका अनुसार सुराकीको रकम हिनामिना भएपछि पछिल्लो समय सुन तस्करीको सुराकी आउन छोडेको छ। केही समयअघि काठमाडौंमा बरामद गरिएको सुनको सुराकीले पाउनुपर्ने झन्डै ७५ लाख रकम प्रहरी र राजस्वका कर्मचारीले मिलेमतो गरी बढेको समाचार सार्वजनिक भएको थियो। रकम हिनामिना गर्नेको नामसहित समाचार सार्वजनिक हुँदा पनि सम्बन्धित निकायले छानबिन नगरेको भन्दै प्रहरीभित्रै व्यापक असन्तुष्टि पैदा भएको थियो। समाचार स्रोतले बताएअनुसार राजधानीमा रहेको रक्तचन्दन ठूलो परिमाणमा लैजान लाइन नमिलेपछि सानो परिमाणमा विभिन्न माध्यमबाट विभिन्न नाकाबाट लैजाने प्रयास भइरहेको छ। समाचार स्रोतका अनुसार रक्तचन्दन चिनियाँ बजारमा प्रतिकेजी ६ हजार रुपियाँमा सजिलै बिक्री हुन्छ। भारतबाट राजमार्ग हुँदै आउने रक्तचन्दन काठमाडौंसम्म आइपुग्दा कुनै चर्चा हुँदैन। काठमाडौंबाट खासा पुरयाउँदा यसको व्यापक चर्चा हुने गरेको छ। ***