काठमाडौं- संविधानसभा मातहत रहेको सवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिको सभापति चयन आइतबार गर्ने तयारी भएको छ ।
सभापतिको चयनबिना समितिका काम कारवाही, विधि र प्रक्रिया अधुरो अपुरो हुने देखिएको जनाउँदै सहमतिका आधारमा सभापति चयनका लागि आज बिहान समय तोकिएको छ ।
समितिको सभापतिमा एकीकृत माओवादीका नेता बाबुराम भट्टराई चयन गर्न दलहरु सहमत भइसकेका छन् ।
संविधानसभा मातहत रहने सबैभन्दा प्रभावशाली समितिको रुपमा रहने समिति ७१ सदस्यीय छ ।
समितिले राजनीतिक दलबीच मतभिन्नता रहेका संविधानका अन्र्तवस्तुमा सहमति कायम गरी सोसम्बन्धी प्रतिवेदन सभामा पेस गर्ने मुख्य जिम्मेवारी प्राप्त गरेको छ ।
समितिलाई संविधान निर्माणका लागि संविधानसभाभित्र रहेका राजनीतिक दल, सदस्य र बाहिर रहेका विभिन्न राजनीतिक दल तथा सरोकार भएकाहरुसँग वार्ता गरी संविधान निर्माणको काममा सबैको सहयोग जुटाउने कार्यक्षेत्रसमेत तोकिएको छ ।