काठमाडौं– प्रेस चौतारी नेपालले नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनमा अध्यक्ष पदमा महेन्द्र विष्टको उम्मेदवारी घोषणा गरेको छ ।
प्रेस चौतारी नेपालको ललितपुरमा भएको राष्ट्रिय भेलामा विष्टको उम्मेदवारी घोषणा गरिएको हो ।
नेपाल पत्रकार महासङ्घका पूर्व महासचिव रहेका विष्टलाई प्रेस चौतारीका अध्यक्ष राजेन्द्र अर्यालले सङ्गठनका तर्फबाट अध्यक्षको उम्मेदवारको रुपमा प्रस्ताव गर्नुभएको थियो ।
महासङ्घमा अध्यक्षको उम्मेदवारका आकाङ्क्षी रहेका प्रेस चौतारीका निवर्तमान अध्यक्ष गगन विष्ट, पूर्व अध्यक्ष बालकृष्ण चापागाईं र नेपाल पत्रकार महासङ्घकी उपाध्यक्ष यशोदा तिम्सिनाले विष्टलाई सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदवारमा सहमति जनाउनुभएको थियो ।
बीस वर्षभन्दा लामो समयदेखि पत्रकारितामा क्रियाशील विष्टले एक दशकअघि नेपाल पत्रकार महासङ्घको केन्द्रीय सदस्य, सचिव हुँदै महासचिवको भूमिका निर्वाह गर्नुभएको थियो ।
उम्मेदवार घोषणापछि विष्टले नेपालमा पत्रकारिताको सङ्ख्यात्मक विकास भए पनि गुणात्मक विकास हुन नसकेको भन्दै पत्रकारको क्षमता विकास र सञ्चार माध्यमको व्यवस्थापकीय सुधारमा आफू काम गर्न चाहेको बताउनुभयो ।
भेलाले आगामी वैशाख २० र २१ गते हुने महासङ्घको निर्वाचनमा अध्यक्षबाहेक सबै पदको उम्मेदवारी चयन र एजेण्डा मिल्ने सङ्गठनसँग चुनावी तालमेल गर्न सचिवालयलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।