काठमाडौ- सर्वोच्च अदालतमा अब मुस्किलले दुईवटा मात्र इजलास सञ्चालन हुने भएको छ।
आज शनिबारबाट लागू हुने गरी पाँच जना न्यायाधीश एकसाथ बाहिरिएपछि सर्वोच्चमा न्यायाधिशको अभाव भएको हो ।
कुनै बेला ११ वटासम्म इजलास सञ्चालनमा आएको सर्वोच्च अदालतमा आइतबारबाट मुस्किलले दुईवटा इजलास सञ्चालनमा आउने भएको हो।
सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेका १७ हजार ५ सय मुद्दाको भार अब त्यहाँ कार्यरत ५ जना न्यायाधीशको काँधमा आइपरेको छ।
अन्य न्यायाधिशहरूको नियुक्ति नभएसम्म ती सबै मुद्दाको भार अब सर्वोच्च अदालतमा कार्यरत जम्मा ५ जना न्यायाधिशको काँधमा रहने भएको हो।
शुक्रबारबाट सर्वोच्च अदालतबाट बाहिरिने न्यायाधिशहरूमा प्रकाश वस्ती, वैद्यनाथ उपाध्याय, तर्कराज भट्ट, ज्ञानेन्द्रबहादुर कार्की र डा. भरतबहादुर कार्की छन्।
सर्वोच्च अदालतमा अब प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा र न्यायाधीशहरू रामकुमारप्रसाद शाह, कल्याण श्रेष्ठ, गिरीशचन्द्र लाल र सुशीला कार्की मात्र रहेका छन् । ***