काठमाडौं – निर्वाचन आयोगले उपनिर्वाचनमा विद्युतीय मतदान यन्त्र प्रयोग गर्ने तयारी गरेको छ । संविधानसभामा रिक्त चार क्षेत्रका लागि सरकारले असार ८ गते निर्वाचन गराउने घोषणा गरेलगत्तै आयोगले तयारी सुरु गरेको हो । निर्वाचन आयुक्त दोलखबहादुर गुरुङका अनुसार यस पटक चारै क्षेत्रमा विद्युतीय मतदान यन्त्र प्रयोग गर्ने तयारी भईरहेको छ।
निर्वाचन घोषणासम्बन्धी सरकारको औपचारिक पत्र प्राप्त हुन बाँकी रहेको उल्लेख गर्दै उनले वैशाख पहिलो सातासम्म आयोगले त्यसका लागि आवश्यक निर्णय गर्ने बताए । मंसिर ४ को निर्वाचनमा आयोगले प्राविधिक कठिनाइका कारण विद्युतीय मतदान यन्त्र प्रयोग गर्न सकेको थिएन ।
सरकारले संविधानसभा सदस्य रिक्त रहेका काठमाडौं-२, चितवन-४, बर्दिया-१ र कैलाली-६ मा उपनिर्वाचनका लागि बिहीबार मिति घोषणा गरेको थियो । संविधानसभाका लागि मंसिर ४ मा भएको निर्वाचनमा दुई-दुई क्षेत्रबाट विजयी चार नेताले एक-एक क्षेत्रबाट राजीनामा गरेपछि ती क्षेत्र रिक्त थिए । आ-आफ्ना गृहजिल्लाबाट समेत विजयी प्रधानमन्त्री सुशील कोइरालाले चितवन-४, एमाले वरिष्ठ नेता माधव नेपालले काठमाडौं-२, उपप्रधानमन्त्री वामदेव गौतमले बर्दिया-१ र कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले कैलाली-६ छाडेका हुन् ।
आयोगले ती क्षेत्रहरूमा मतदाता नामावली अध्यावधिक गर्ने विशेष कार्यक्रम पनि सञ्चालन गर्ने जनाएको छ । ‘चैत मसान्तसम्म मतदाता नामावली अध्यावधिक गर्ने नियमित कार्यक्रम देशैभर चलिरहेको छ,’ आयुक्त गुरुङले भने, ‘उपनिर्वाचन हुने क्षेत्रमा विशेष ध्यान दिइनेछ । रासस ***