काठमाडौं – नेपालका लागि बेलायतका राजदूत एन्डि्रयु जेम्स स्पार्कस्ले हालै चौधरी ग्रुपको अवलोकन भ्रमण गर्नुभएको छ । उहाँका साथमा बेलायत सरकारको अन्तर्राष्ट्रिय सहयोग विभाग
(डिएफआईडी) का नेपालस्थित कार्यालयका उच्च अधिकारीहरु पनि सहभागी हुनुहुन्थ्यो ।
चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले राजदूत स्पार्कसलाई आफ्नो ग्रुपको कार्यालय, सानेपामा हार्दिक स्वागत गर्नुभयो । उक्त अवसरमा अध्यक्ष चौधरीले राजदूत र डिएफआईडीका अधिकारीहरुलाई चौधरी ग्रुपले अगाडि बढाएको नेपाल सोसल विजनेशको उद्देश्यका बारेमा जानकारी गराउनुभयो ।
‘हामी धेरैभन्दा धेरै नेपाली युवाहरु उद्यमशील बनून् भन्ने चाहन्छौँ । त्यहि लक्ष्य हासिल गर्न नेपालमा सोसल विजनेशको अवधारणा कार्यान्वयनमा ल्याएका हौँ’, अध्यक्ष चौधरीले भन्नुभयो, ‘आम नेपाली नागरिकको जीवनस्तरमा सुधार ल्याउने बृहत लक्ष्यमा सहयोग पुर्याउनकै लागि सोसल विजनेशलाई प्रभावकारी बनाईदैछ । ‘अध्यक्ष चौधरीले द्वन्दपूर्ण विगतको दशकमा पनि चौधरी ग्रुपले नेपालमा विस्तार गर्दै लगेको लगानीका बारेमा जानकारी गराउनुभयो ।
चौधरी ग्रुपले नवलपरासी जिल्लामा चौधरी उद्योग ग्राम स्थापना गरी सफलताका साथ सञ्चालन गरिएकोप्रति राजदूत श्री स्पार्कस्ले सह्राना गर्नुभयो र यस्ता उद्योग ग्राम देशका अन्य भागमा पनि स्थापना गरी मुलुकको सामाजिक आर्थिक विकास गर्नुपर्ने बताउनुभयो |
उक्त अवसरमा चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक उत्तरदायित्व सहित आफ़्नो ग्रुप नेपालमा लगानी विस्तारका विभिन्न योजनाहरु कार्यान्वयन गरिरहेको जानकारी गराउनुभयो । सो अवसरमा कार्यकारी निर्देशक वरुण चौधरीको पनि उपस्थिति थियो । ****