अहमदाबाद- भारतको निर्वाचन सर्वेक्षणमा अग्रपंक्तिमा देखिएका ६३ वर्षे नरेन्द्र मोदीले विवाहित भएको पहिलोपटक स्विकारेका छन् ।
प्रधानमन्त्री बन्ने प्रबल सम्भावना व्यक्त गरिएका उनले जीवनको सबैभन्दा गोप्य वैवाहिक प्रसंगलाई बल्ल आएर सार्वजनिक गरेका छन् ।
उनले बुधबार गुजरात राज्यको पश्चिमी बडोदरा निर्वाचन क्षेत्रमा उम्मेदवार नामांकन दर्ता र्फममा आफ्नो एक पत्नी भएको स्विकारेका छन् । गुजरातका मुख्यमन्त्री मोदीले कागजातमा पत्नीको नाममा जशोदाबेन लेखेका छन् । उनले उक्त दस्तावेजमा पत्नीका बारेमा कुनै सूचना नभएको पनि भनेका छन् ।
उनी अविवाहित रहेको बताउँदै आएका थिए । हिन्दु राष्ट्रवादी संगठनको तल्लो तहबाट माथि उठेका मोदीले युवा अवस्था एक्लै बिताएको ठानिएको थियो । आमसञ्चारले धेरै पटक उनी भर्खरको युवा छँदा आमाबाबुले जुराइदिएको विवाहबाट पन्छिएको खबर दिएको थियो । उनी स्वयं भने यस विषयमा मौन थिए । उनले राजनीतिक करियरमा सधैं आफूलाई एक्लो देखाएका थिए ।
मोदीका दाजुद्वारा बिहीबार जारी विज्ञप्तिमा नरेन्द्रले उही बेला बिहे गरेको पुष्टि गरेका छन् । मोदी १७ वर्षको हुँदा उक्त विवाह भएको थियो । घरपरिवारभन्दा राजनीतिमा रम्ने मोदीको व्यवहारले वैवाहिक जीवनले निरन्तरता पाउन सकेको थिएन । उनको ६२ वर्षे श्रीमती अहिले अवकाश प्राप्त शिक्षिकाको जीवन बिताइरहेकी छन् । जशोदाबेनले हालैको एक अन्तर्वार्तामा मोदीसँग बिहे भएको, छोटो समय सँगै बिताएको र मोदीले पढाइमा ध्यान दिन भन्दै आफूलाई माइत फर्काएको भनेकी थिइन् । उनले मोदीले निःसन्देह मुलुकको प्रधानमन्त्री पद सम्हाल्ने विश्वास पनि व्यक्त गरेकी थिइन् ।
‘नरेन्द्रका लागि मुलुकको सेवा सबैभन्दा ठूलो भएकाले उसले घर छोड्यो,’ मोदीका ठूल्दाइ सोमभाइ दामोदरदासले भने । उनले ६ छोराछोरी हुर्काउन बाआमा असक्षम भएको र त्यही कारणले परिवारमा कसैले पनि धेरै पढ्न नपाएको बताएका छन् । मोदीले पनि जीवनी लेखकलाई एकान्तपनामा रमाउने गरेको बताएका छन् । उनले सन्तान नभएकाले आफू सफा राजनीतिज्ञ हुने भनेका छन् ।
‘मेरो पारिवारिक सम्बन्ध छैन । मैले भ्रष्टाचार गरेर कसलाई पो फाइदा दिने,’ उनले हालै एक सभामा भने । उनी गुजरातको क्षेत्रीय सभामा चारपटकसम्म उम्मेदवार भएका थिए । तर, कहिल्यै वैवाहिक सम्बन्धबारे उल्लेख गरेका थिएनन् । विरोधीहरूले भारतीय जनता पार्टी (भाजपा) का प्रधानमन्त्रीको उम्मेदवार मोदीले व्यक्तिगत जीवनका बारेमा जानकारी नदिएको भनी विरोध गर्दै आएका थिए ।
अहिले भने गुजरातमा कंग्रेस पार्टीका प्रमुख अर्जुन मोढवाडियाले मोदीले गुजरातका जनतालाई झुक्याएकोमा पहिले माफी माग्नुपर्ने बताएका छन् । नयाँदिल्लीमा कंग्रेस पार्टीका प्रवक्ता रसिद अल्भीले मोदीले पत्नीलाई किन छोडपत्र नगरेको वा ध्यान नदिएको भनी प्रश्न गरेका छन् । उनले भने, ‘यदि एउटा पुरुषले पत्नीलाई ध्यान दिन सक्दैन भने उसले मुलुकलाई कसरी ध्यान दिन सक्छ ।’
भारतको लोकसभा निर्वाचन बिहीबार नौ चरणमध्ये तेस्रो चरणमा प्रवेश गरेको छ । ५ सय ४३ स्थानको संसद्मा यसपटक पाँच भागको एक भागमा मतदान हुँदैछ । यस निर्वाचनलाई अविवाहितहरूको संघर्षको रूपमा हेर्ने गरिन्थ्यो । मोदीका प्रमुख प्रतिद्वन्द्वी राहुल गान्धी अविवाहित छन् । उनी नेहरू-गान्धी वंश परम्पराका उत्तराधिकारी हुन् । उक्त दल सन् २००४ देखि शासनमा छ । हिन्दुत्वमा संसारिक आनन्दलाई परित्याग गर्ने परम्परालाई बलियो रूपमा समर्थन गरिन्छ । मोदीको जीवनका अन्य भाग पनि अझै अस्पष्ट छन् ।