टोकियो – २५५६ औ बुद्धजयन्ती तथा नेपाली नयाँ वर्षको अवसरमा आइतवार टोकियोमा नेपालीहरुले एक शान्तियात्रा प्रदर्शन गर्ने भएका छन् ।
शान्तिका अग्रदूत गौतम बुद्ध नेपालमै जन्मेका हुन् । यसमा कुनै सन्देह पालिरहनु आवश्यक छैन । तर पनि उनी नेपालमै जन्मेका हुन् भनेर चिच्याइ-चिच्याई कराईरहनुपर्ने स्थिति हामीबिच अझै बिद्यमान छ, निश्चय पनि यो बिडम्बनाको कुरा हो । नियत खराब भएका छिमेकी राष्ट्रहरुको गिद्दे दृष्टि र नेपाल सरकारको निम्छरो उपस्थितिका कारण बुद्ध नेपालमै जन्मेका हुन् भन्नेमा भ्रम छ, यसलाई चिर्न ढिला भईरहेको छ । कतिपय मुलुकहरुले त आफ़्नो पाठ्यपुस्तकमै बुद्ध भारतमा जन्मेको भन्ने गलत तथ्यहरु आफ़्ना कलिला नानीहरुलाई पढाउन उद्यत छन् । यसलाई चिर्न नेपाल सरकाले कूटनीतिक स्तरबाटै एक सेकेण्ड पनि ढिला नगरिकन प्रभावकारी कदम चालिनुपर्ने देखिन्छ ।
यसै परिप्रेक्ष्यमा जापानी समुदायमा बुद्ध नेपालको लुम्बिनी भन्ने ठाउँमा जन्मेका हुन्, लुम्बिनी नेपालमा पर्दछ भन्ने सन्देश प्रवाह गर्ने मुलभूत उद्देश्यले टोकियोमा नेपालीहरुले उक्त शान्तियात्रा गर्ने भएका हुन् । २५५६ औं बुद्धजयन्ती तथा नेपाली नयाँ वर्षको अवसरमा उक्त शान्तियात्राको आयोजना गरिएको हो ।
बुद्ध नेपालमै जन्मेको भन्ने तथ्य घामजस्तै छर्लङ्ग भए पनि अन्तर्राष्ट्रिय समुदायमा बिद्यमान केहि भ्रमहरु चिर्न उक्त शान्तियात्राको आयोजना गरिएको र शान्तियात्राले जापानी समुदायमा भ्रम हटाउन मद्दत पुग्ने आयोजक संस्थामध्यको एक नेपाल जापान युथ क्लवका अध्यक्ष तासी लामाले समुद्रपारिलाई बताए ।
‘संसारभरिका शान्तिका पूजारी अर्थात मानवजातीका आस्थाका धरोहर गौतम बुद्ध लुम्बिनीमा जन्मेर बुद्धत्व प्राप्त गर्न मात्र भारत गएको इतिहास साक्षी छ । यद्यपि उनका बारे भ्रमको खेती गरेर नेपाललाई ओझेल पार्ने दुस्प्रयास भईरहेका छन् यसका बिरुद्धमा हामी प्रवासबाटै भए पनि आवाज बुलन्द गर्न आवश्यक छ, यसैको एउटा कडिकोरुपमा शान्तियात्रा तय गरिएको र यसमा नेपालीहरु मात्र नभएर नेपालप्रति भावनात्मक सम्बन्ध राख्ने ठुलो संख्याका जापानीहरुको पनि सहभागिता रहने अपेक्षा गरिएको छ’ – अध्यक्ष तासी लामाले भने ।
बिश्वलाई नेपाल चिनाउने कार्यमा हामी जहाँ भएपनि नेपाली एकताको प्रदर्शन गर्ने र जापानमा रहेका नेपालीहरुका लागि आपतकालिन राहत कोष स्थापना गर्ने शान्तियात्राको अर्को उद्देश्य रहेको आयोजक संस्था मध्यको अर्को वी फर अलका अध्यक्ष सरोज खत्रीले समुद्रपारिलाई बताए । उनले भने – ‘तयारी सबै पुरा भईसकेको छ, जापानमा रहनुभएका नेपालीहरुको ब्यापक सहभागिताको लागि हार्दिक अपिल गर्दछौं ।’
आयोजक स्रोतकाअनुसार आइतवार अपरान्ह १ बजेदेखि टोकियो शिबुया स्टेशन नजिकै रहेको मियासिता पार्कबाट शान्तियात्रा सुरु हुने छ । उक्त यात्रामा नेपाली सँस्कृति झल्काउन र नेपाल चिनाउन आ-आफ़्ना जातजातिय भेषभूषामा सहभागि भई दिन अनुरोध गरिएको छ ।***