सडक व्यवसाय व्यवस्थित गर्न माग
काठमाडौ- नेपाल स्वरोजगार व्यापार श्रमिक सङ्घले वैकल्पिक स्थानको व्यवस्था गरिनुपर्नेलगायत माग राख्दै बल्खुस्थित नेकपा (एमाले)को केन्द्रीय कार्यालय बिहीबार घेराउ गरेको छ ।
सङ्घले सडक व्यवसायीलाई व्यवस्थित तथा मर्यादित बनाउनुपर्नेलगायत माग राख्दै आएको छ । व्यवसायीले दोस्रो चरणको आन्दोलनअन्तर्गत विभिन्न राजनीतिक दलका कार्यालयमा घेराउ गर्दै आएका छन् । सडकपेटीमा व्यवसाय गर्दा पैदल यात्रुलाई हिँडडुल गर्न असहज भई समस्या आएको भन्दै सरकारले गत फागुन १४ देखि सो व्यवसाय सञ्चालनमा प्रतिबन्ध लगाएको थियो । त्यसपछि राष्ट्रिय स्वरोजगार व्यापार सङ्घ, संयुक्त व्यापार व्यवसायी सङ्गठन नेपाल आबद्ध श्रमिक एकताबद्ध भई पहिलो चरणको आन्दोलन गरेका थिए ।
व्यवसायीले कलङ्कीमा जम्मा भई पदयात्रासहित सो कार्यालय आई घेराउ गरेका थिए । घेराउका क्रममा सो आसपास क्षेत्रमा सवारी साधन आवतजावतमा अवरोध पुगेको थियो । स्वरोजगार व्यापार श्रमिक सङ्घका महासचिव माया गुरुङले स्वरोजगार व्यवसायीमाथि हुने दुर्ब्यवहार बन्द गरी व्यावसायिक क्षेत्रमा शान्ति सुरक्षा कायम गर्नुपर्ने माग गरे ।