पर्थ- हराइरहेको मलेसियाली विमानका अवशेषहरू चाँडै पत्ता लाग्ने खोजमा जुटेका अस्ट्रेलियाली अधिकारीले विश्वास दिलाएका छन् । उनीहरूले पर्थमा सुरु गरिएको एकीकृत खोजमा प्रयोग भएका अत्याधुनिक प्रविधिले समुद्रमा केही भग्नावशेष भेट्टाएको संकेत गरेको भनेका छन् । समुद्रमा बेपत्ता विमानसँग सम्बद्ध शंकास्पद वस्तु देखिएको अनुमान गरिएको छ ।
एक अधिकारीका अनुसार केही त्यस्ता वस्तु समुद्रमा रहेको बारे पत्ता लागेको छ । केही दिनमै त्यसबारे थप जानकारी प्राप्त हुनेछ । त्यो क्षेत्रमा मंगलबार दिउँसो ५ मिनेट ३२ सेकेन्ड र साँझ सात मिनेटसम्म सिंग्नल सुनिएको थियो ।
अस्टे्रलियाली सहर पर्थदेखि पश्चिमको जल क्षेत्रमा विमानको फ्लाइट रेकर्डरबाट आइरहेको स्वर सुन्न अत्याधुनिक यन्त्रको प्रयोग भइरहेको छ । हिन्द महासागरको ४ हजार ५ सय मिटरको गहिराइमा ती स्थिर, स्पष्ट र सफा संकेत सुनिएका हुन् । उनीहरूले बढीभन्दा बढी संकेत प्राप्त भएमा दुर्घटनास्थल ठम्याउन झन् सहज हुने बताएका छन् । यो साताभर पानीमुनिको विशेष विद्युतीय संयन्त्रबाट लगातार यस्तो संकेत प्राप्त भइरहेको विशेषहरूले बताएका छन् । विज्ञहरूले ती संकेत लगभग बेपत्ता विमानको फ्लाइट रेकर्डर (ब्ल्याक बक्स) कै भएको निष्कर्षमा पुगेका छन् ।
गत ८ मार्चमा मलेसियाबाट चीनको बेइजिङका लागि उडेको उक्त विमान भियतनामको आकाशमा पुगेपछि बेपत्ता भएको हो । विमानमा १ सय ५३ चिनियाँसहित विभिन्न मुलुकका २ सय ३९ यात्रु थिए ।