नयाँदिल्ली- भारतको दिल्लीका पूर्व मुख्यमन्त्री तथा आम आदमी पार्टी (आप) का संयोजक अरबिन्द केजरिवाललाई मंगलबार ‘रोड शो’ को क्रममा एक व्यक्तिले झापड हानेका छन् । उनी उत्तर-पश्चिम दिल्ली लोकसभा क्षेत्रको सुल्तानपुरी इलाकामा आपको उम्मेदवार राखी बिडलानको समर्थनमा सडक कार्यक्रम गरिरहेका थिए । उनलाई चट्काउनेले हातमा फूलमाला लिएको थियो । उनले जीपमा उभेका केजरीवाललाई माला पहिराएपछि चड्कन प्रहार गरेका थिए । यस घटना पछाडिको कारण खुल्न सकेको छैन ।
आपका नेताको भनाइ र गराइमा भेद देखिएकाले आमनागरिकको असन्तुष्टि बढ्दै गएको मुख्य विपक्षी भारतीय जनता पार्टी (भाजपा) का नेता विजय गोयलले भनेका छन् । उनले जनतालाई मूर्ख बनाउन निपूर्ण केजरीवालको दाउपेच बुझेका आपका कुनै कार्यकर्ता उक्त घटनामा संलग्न भएको हुनसक्ने बताएका छन् ।
केजरीवालमाथि यसअघि विभिन्न सहरमा चारपटक आक्रमण र मसी फाल्ने गतिविधि भइसकेको छ ।
भाजपाको तर्फबाट प्रधानमन्त्री पदका उम्मेदवार नरेन्द्र मोदीविरुद्ध चुनाव लड्ने घोषणा गर्दै वाराणसी पुगेका उनीमाथि अण्डा फालिएको थियो ।
गत ४ अपि्रलमा दक्षिण दिल्लीको दक्षिणपुरीमा सडक कार्यक्रमको क्रममा एक जनाले आक्रमण गरेका थिए ।