काठमाडौं- राप्रपाका अध्यक्ष सुर्यबहादुर थापाले आफ्नो पार्टीका तर्फकाट आफ्नै छोरा सुनील थापालाई मन्त्री बनाएपछि पार्टीभित्र संकटमा परेका छन् । राप्रपाभित्र उनीविरुद्ध खुला मोर्चाबन्दी सुरु भएको छ ।
असन्तुष्ट नेताहरूले अध्यक्ष थापालाई संसदीय दलको नेता नबनाउने निर्णय गरेका छन् । राप्रपाका असन्तुष्ट नेताहरूले लोकेन्द्रबहादुर चन्दको निवास लोकन्थली र बालुवाटारस्थित विक्रम पाण्डेको निजी कार्यालयमा सोमबार बैठक गरेर थापालाई नेता चयन नगर्ने निर्णय गरेका हुन् । राप्रपामा औपचारिक रूपमा संसदीय दलको चुनाव भएको छैन । अध्यक्ष थापाले नै दलको नेताका रूपमा काम गर्दै आएका छन् ।
पार्टीभित्र कसैसँग सल्लाह नगरी अध्यक्ष थापाले छोरा सुनील र गिरीबहादुर केसीलाई मन्त्री बनाएको भन्दै असन्तुष्ट नेताहरूले चर्को विरोध गरेका छन् ।
मन्त्री भएका सुनील सुडानको संयुक्त राष्ट्रसंघको कार्यालयमा लामो समयसम्म जागिरे थिए । केही वर्षअघि मात्रै उनी स्वदेश फर्केका हुन् ।