काठमाडौं- डा.बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा सुरु भएको हेलो सरकारमा आजभोलि जनताका उजुरी घट्दै गएका छन् ।
सुरुका महिना दुई हजारदेखि पच्चिस सयसम्म जनताका गुनासो हेलो सरकारमा आउथे । अहिले मासिक ६ सयदेखि ८ सय वटा मात्र ।
आज पनि पहिले जस्तै सार्वजनिक सेवा राम्रो नभएकोमा जनताले गुनासो गर्छन । कसैले मोबाइलको नेटवर्क भएन भन्छन, कसैले मोबाइलमा धेरै फोन आएको गुनासो गर्छन् ।
फागुन महिनामा हेलो सरकारमा खानेपानी, यातायात, टेलिफोन, शिक्षा, स्वास्थ्य सम्बन्धि पाँच सय ६३ वटा गुनासो हेलो सरकारलाई आएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले बताए ।
सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले गुनासो मध्ये ४३७ वटा फछ्यौट भएको जानकारी दिए । उनले विभिन्न कारणले हेलो सरकारमा पहिले भन्दा कम गुनासो आउने गरेको बताए ।
सचिव बाँस्कोटाका अनुसार स्थापना भएदेखि आजसम्म हेलो सरकारमा २९ हजार १ सय ३ वटा उजुरी र गुनासो जनताले गरे । जसमध्ये ९७ प्रतिशत फछ्यौट भएको उनले बताए ।