काठमाडौं– धर्नामा बसेका रहेका व्यवस्थापिका–संसद् सचिवालयका कर्मचारीको मागप्रति प्रधानमन्त्री सुशील कोइरालाले चासो व्यक्त गरेका छन्।
संविधानसभा मातहतको सवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको पहिलो बैठकमा भाग लिन सिंहदरबारस्थित व्यवस्थापिका–संसद् सचिवालय पुगेका प्रधानमन्त्री कोइरालाले बैठकस्थलनजिक कालोपट्टी बाँधेर धर्नामा बसेका कर्मचारीको हुलतर्फ औंला देखाउँदै सचिवालयका प्रवक्तासँग सोधे– त्यहाँ के हो?
सचिवालयका प्रवक्ता मुकुन्द शर्माले तत्कालै जवाफ दिए, ‘तेहोरो काम गर्नुपरेकाले पैसा बढाउनुपर्ने माग छ उहाँहरूको।’ व्यवस्थापिका–संसद् सेवाका कर्मचारी संविधानसभा, व्यवस्थापिका–संसद् र समितिसमेत गरी तीन भिन्नभिन्न जिम्मेवारी बहन गर्नुपरेकाले सुविधा पाउनुपर्ने माग गर्दै १५ दिनदेखि चरणबद्ध आन्दोलनमा छन्।
आन्दोलन क्रममा उनीहरूले सोमबार संसद् सचिवालयका महासचिवको कार्यकक्ष रहेको भवनको प्रमुख प्रवेशद्वारमा बिहान १० देखि ११ बजेसम्म एक घन्टा धर्ना दिएका थिए।