नयाँदिल्ली – हिमालय क्षेत्रमा घुँडासम्म आउने हिउँयुक्त मार्ग होस् वा राजस्थानको मरुभूमि, याकदेखि ऊँटसम्ममा मतपेटिका लादेर मतदान केन्द्रमा पुर्याउन व्यस्त छन् कर्मचारी । विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक भारतमा जारी अभ्यासले सबै मतदाताले भोट दिन पाउने आशा गर्न सकिन्छ ।
निर्वाचनको म्याराथन सोमबार उत्तरपूर्वी ६ स्थानका लागि आरम्भ हुनेछ, जुन राजधानी नयाँदिल्लीबाट २ हजार किमि टाढा छन् । ६ सातापछि सबैभन्दा बढी जनसंख्या भएको राज्य उत्तरप्रदेशमा गएर अन्त्य हुनेछ, जहाँ प्रेमको प्रतीक ताजमहलदेखि गंगा किनारको धार्मिक नगर वाराणसीसम्म छन् ।
८१ करोड ४० लाख मतदाता निर्वाचनमा सहभागी हुँदैछन्, जसमा १० करोड नयाँ छन् । दोस्रो ठूलो प्रजातन्त्र अमेरिकामा २१ करोड ९० लाख मात्र मतदाता छन् ।
मनोनयनको प्रक्रिया अन्त्य हुँदासम्म ५ सय दलबाट १५ हजार उम्मेदवार रहने अनुमान छ । उनीहरूले संसद्को तल्लो सभा लोकसभाका ५ सय ४३ स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रमुख निर्वाचन आयुक्त भीएस सम्पथले गत साता देशको सोह्रौं आमनिर्वाचन मिति घोषणा गर्दा तथ्यांकले मस्तिष्क घुमाउने बताएका थिए । मुलुकको भौगोलिक विस्तारका साथमा क्षेत्रीय, धार्मिक, जातीय जटिलता तथा सांस्कृतिक र भाषिक विविधता भएको उनले बताएका थिए ।
विद्युतीय मतपत्रसमेत क्षेत्रीय भाषामा परिवर्तन गर्नुपर्ने भारतमा २२ वटा औपचारिक भाषा छन् । दिल्ली र मुम्बई जस्ता ठूला नगरमा दसौं हजारले मतदान गर्नेछन् ।
सन् २००९ को निर्वाचनमा प्रमुख निर्वाचन आयुक्त रहेका एसवाई कुरेसीले कश्मीरको लद्दाख क्षेत्रमा ३७ मतदाताका लागि निर्वाचन अधिकारीहरूले ४ दिन हिँडेर निर्वाचन सामग्री पुर्याएको बताए । त्यस क्षेत्रमा मतपत्र पठाएर फर्काउनुभन्दा स्याटेलाइट र टेलिफोनको माध्यमबाट मतदान गर्न लगाउनु उचित हुने उनको सुझाव छ । कुरेसीले संगठनात्मक टाउको दुखाइ हटाउने विषयमा एक पुस्तक लेखेका छन्, जसमा गुजरातको एक जंगलमा राखिएको मतदान केन्द्रमा एकमात्र मत खसेको उल्लेख छ ।
यस वर्ष मतदान विद्युतीय माध्यमबाट मात्र हुनेछ । तर, केही स्थानमा निर्वाचन सामग्री पठाउने अवस्था सन् १९५१ मा पहिलोपटक मतदान भएपछि भन्दा फरक छैन । त्यसैले निर्वाचन अधिकारीहरू राजस्थानको मरुभूमिमा उँटमा सामान लादेर पुग्नेछन्, उत्तरको हिमाली क्षेत्रमा खच्चड र याक प्रयोग हुनेछन् । वन क्षेत्रमा हात्तीको सवारी चल्नेछ ।
अन्डमान-निकोबार द्वीपमा हेलिकोप्टर र द्रुत गतिका डुंगा ओहोरदोहोर गरिरहनेछन्, जसले ५ सय ७२ वटा द्वीपमा मतदातामाझ निर्वाचन सामग्री पुर्याउनेछन् । तीमध्ये ३६ मा मात्र मानव बसोबास छ । निर्वाचन कानुनमा मतदाताले भोट खसाल्न २ किमीभन्दा बढी हिंड्नु नपर्ने कल्पना गरेको छ । दिल्लीस्थित एसोसिएसन फर डेमोक्र्याटिक रिर्फमका संस्थापक त्रिलोचन शास्त्री मुलुकको हरेक कुनामा रहेका मतदातालाई शान्तिपूर्ण रूपमा सहभागी गराउनु सबैभन्दा ठूलो चुनौती भएको बताउँछन् ।
निर्वाचनमा लाखौं प्रहरी र सेना परिचालन गरिनेछ । कश्मीरसहित विभिन्न भागमा लडाकू समूहले चुनाव बिथोल्ने धम्की दिएका छन् । मध्य भागमा माओवादी विद्रोह कायम छ । मतदान केन्द्रमासुरक्षाकर्मीले १७ लाख मतदान यन्त्रको सुरक्षा गर्नुपर्नेछ र मे १६ मा नतिजा नआएसम्म लगातार गरिरहनुपर्नेछ । २८ प्रदेश र ५ युनियन टेरिटोरीमा ९ चरणमा मतदान हुनेछ । देशकै इतिहासमा सबैभन्दा लामो ३६ दिनको तालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ । आगामी १२ मेमा आमनिर्वाचन सम्पन्न हुनेछ ।
पहिलो चरणमा सोमबार असम र त्रिपुरा राज्यका ६ क्षेत्रमा चुनाव हुँदैछ । नेपालसँग सिमाना जोडिएका प्रदेशमध्ये सिक्किममा १२ अपि्रल, पश्चिम बंगालमा १७, २४ र ३० अपि्रल तथा ७ र १२ मेमा निर्वाचन हुँदैछ । बिहार र उत्तरप्रदेशमा १०, १७, २४ र ३० अपि्रल तथा ७ र १२ मेमा हुनेछ भने उत्तराखण्डमा ७ मेमा मतदान हुनेछ । राजधानी दिल्लीमा १० अपि्रलमा निर्वाचन हुनेछ ।
मे १९ मा अन्तिम परिणाम घोषणा गर्ने निर्वाचन आयोगको तालिका छ । २ सय ७२ सिट ल्याउने वा दाबी गर्ने दल या
गठबन्धनले नयाँ सरकार बनाउनेछ । आमनिर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगको खर्च ३५ सय करोड खर्च हुने अनुमान छ । दलहरूको खर्च ३० हजार ५ सय करोड खर्च हुने अनुमान छ ।
प्रधानमन्त्री मनमोहन सिंहले यस निर्वाचनपछि अवकाश लिनेछन् । हालको मुख्य विपक्षी भारतीय जनता पार्टी (भाजपा) ले गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री उम्मेदवार बनाएको छ । भ्रष्टाचारविरोधी अभियानले नयाँ दल बनेको आम आदमी पार्टी (आप) पहिलो पटक आमनिर्वाचनमा सहभागी हुँदैछ । मुख्य प्रतिस्पर्धा भने सत्तारूढ कंग्रेस आई र विपक्षी भाजपाबीच हुने अनुमान छ ।
भारतीय कंग्रेसको नेतृत्वमा रहेको संयुक्त प्रगतिशील गठबन्धनमा बाहिर र भित्रका समर्थक गरेर एक दर्जन राजनीतिक दल छन् । प्रतिपक्षमा रहेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) मा भारतीय जनता पार्टीको संयोजकत्वमा एक दर्जनभन्दा बढी छन् ।