सुर्खेत- पैसा लिएर झगडा मिलाइन्छभन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ तर स्थानीय मैनतडा-२ का महिलाले गाउँघरमा हुने गरेका सानातिना झगडा गाउँमै मिलाउने र झगडा मिलाएबापत २ सय रुपैयाँ लिएर कोषमा जम्मा गर्ने गरेका छन् ।
गैरसरकारी संस्था सीमान्तकृत महिलाका लागि महिला संस्था (वाम) सुर्खेतले गठन गरेको स्थानीय झरना समूहका महिलाहरुले गाउँमा हुने सामान्य तथा गाउँमै मिलाउन मिल्ने विवादहरु मिलाएर पैसा लिने गरेका हुन् ।
समूहका सचिव रमा विकले आफूहरुले समूहको कोषलाई बढाउन मात्रै नभई गाउँमै मिल्ने झगडा तथा विवादहरु गाउँमै मिलाएर दिगो मिलापका लागि यस्तो प्रयास गरेको बताए । घरभित्र तथा छिमेकिछिमेकिबीच झगडा हुँदा समूहका सबै दिदीबहिनी त्यहाँ पुगेर सम्झाई बुझाई गरी झगडा मिलाउने गरेको उनले बताए ।
सचिव विकले यस्ता सानातिना झगडा मिलाएर आफूहरुले २ सय रुपैयाँ लिने गरेको भए पनि अन्य अपराध, भ्रष्टाचार, अनियमितताका घटनाहरु भएमा तत्काल सम्बन्धित निकायमा खबर गरिदिने वा पीडितलाई त्यहाँसम्म पुर्याउन सहयोग गर्ने गरेको जानकारी दिए ।
साथै महिलाले महिलाको नेतृत्व क्षमताको विकास गर्दै भ्रष्टाचार र अनियमितता हुने स्थानीय संरचनामा आफँैले नेतृत्व लिन थालेका छन् । स्थानीय विद्यालयहरु, वन उपभोक्ता समिति, विभिन्न भौतिक निर्माणसम्बन्धी समितिमा पुरुषले नेतृत्व गर्दा काम पनि ढिलो हुने र पारदर्शी पनि नहुने गरेकाले आफैले नेतृत्व गर्न थालेको स्थानीय राधिका विकले बताइन्।
झरना समूहको अध्यक्षसमेत रहेकी विकले पुरुषले केही काम गर्दा आफूहरुलाई थाहा नै नदिने र अनियमितता गर्ने गरेकाले आफूहरुले पनि स्थानीय संरचनाको नेतृत्व गर्न थालेको बताइन् ।