सोलुखुम्बु- सोलुखुम्बुको कोसीपारिको गाविस वाकु-७ र ८ का स्थानीय बासिन्दालाई टेलिफोन गर्न एक घण्टा समय खर्चनु पर्दछ ।
सो गाविसको वडा नं. ७ र ८ मा कुनै मोबाइल वा स्काई टेलिफोनको सेटले काम नगरेपछि त्यहाँका स्थानीय बासिन्दालाई मोबाइलको टावर खोज्दै हिँड्नु परेको हो ।
जिल्लाको विभिन्न क्षेत्रमा टेलिफोनको पहुँच विस्तार भए पनि वाकु-७ र ८ मा अहिलेसम्म स्काई फोनको टावरमा समस्या रहेको स्थानीय बासिन्दाको गुनासो छ ।
आफूहरुले यसबारे जिल्लास्थित सम्बन्धित निकायमा विभिन्न समयमा समस्या राखे पनि सम्बन्धित निकायले बेवास्ता गरेको उनीहरुको भनाइ छ ।
‘कतै टेलिफोन गर्नु पर्यो भने गाउँको डाँडाडाँडा मोबाइलमा टेलिफोनको टावर खोज्दै हिँड्नुपर्ने बाध्यात्मक अवस्था छ’-वाकु-८ का स्थानीय बलबहादुर रेग्मी मगरले भने । तर त्यस क्षेत्रका स्थानीयले भोगेको समस्याबारे सम्बन्धित निकाय बेखबर भएको वाकु-७ का डम्बरबहादुर राईले गुनासो गरे ।
‘कसैलाई एक कल फोन गर्नका लागि वाकु गाविसको वडा नं. ७ बाट आधा घण्टा र वडा नं. ८ बाट एक घण्टाको यात्रा पार गर्नुको विकल्प छैन’ वाकु-७ की जुनिता मगरले भनिन् ।