टोकियो – सुदुर बस्तीका विद्यालयहरुमा शौचालय निर्माण सहयोगार्थ टोकियोमा आयोजित साँस्कृतिक कार्यक्रममा उत्साहजनक उपस्थितिका लागि उक्त कार्यक्रममा आएका कलाकारहरुले जापानवासी नेपालीहरुलाई हार्दिक अपिल गरेका छन् ।
नेपालका स्थापित कलाकारहरु (मकोपरि) मनोज गजुरेल, कोमल वली, पशुपति शर्मा र रिता थापाले शनिबार र आइतवार टोकियोमा हुन गईरहेको कार्यक्रममा उपस्थित भई संगै रमाउन जापानका नेपालीहरुलाई चुल्हे निम्ता गरेका हुन् ।
करिव सात/आठ पटक जापान आएका हास्यकलाकार मनाज गजुरेलले हास्यब्यङ्ग्यको माध्यमबाट जनमानसमा सकारात्मक सन्देश दिनुका साथै उनीहरुलाई आशाबादी बनाउन सकिने भन्दै यसपटकको कार्यक्रममा जापानका नेपालीहरुका लागि पृथक प्रस्तुती लिएर आएको बताए । यसैगरी गायिका कोमल वलीले गोजीमा गाँठ भा’को र मनमा आँट भा’को नेपालीको खोजीमा सातौ पटक आफु जापान आएको बताईन् भने दोस्रोचोटी जापान आएका अर्का गायक पशुपति शर्माले जापानका संगीतप्रेमी नेपालीहरुका लागि आफुले नयाँ नयाँ गीतहरु लिएर आएको बताए । अर्की गायिका रिता थापा मगरले जापानका दोहोरीका पारखीहरुसंग दोहोरी गाउन खुल्ला चुनौती दिदैं कार्यक्रममा पशुपति शर्मासंग आफ़्नो बिशेष दोहोरीको भिडन्त हुने बताईन् ।
एनबी प्रतिष्ठानद्वारा आयोजना गरिएको दुई दिवसीय कार्यक्रमको पहिलो दिन शनिबार मेगुरो कुमिन सेन्टर र दोस्रो दिन ओता कुमिन सेन्टर कामातामा हुन लागेको हो । नेपालबाट आएका कलाकारहरुले आज एभरेष्ट इन्टरनेशनल स्कुल, समुद्रपारि डट कमको कार्यालय र अन्य नेपाली जमघट हुने ठाउँहरुको अवलोकन गरेका थिए ।***