पर्वत- नयाँ शैक्षिकसत्र सुरु हुने बेला विद्यालय भर्नाको लहर चल्छ । विद्यालय भर्नाको समयमा सामुदायिक विद्यालय छाडेर धेरै विद्यार्थी निजी विद्यालयमा भर्ना हुन जान्छन् । तर केही यस्ता सामुदायिक विद्यालय पनि छन् जहाँ निजी विद्यालय छाडेर विद्यार्थी भर्ना हुन आउँछन् । विद्यालयको व्यवस्थापन र शिक्षण सिकाइमा परिवर्तन गरेपछि कटुवाचौपारीको जनप्रिय प्राथमिक विद्यालयमा निजी विद्यालयका विद्यार्थी आकषिर्त हुन थालेका हुन् ।
विद्यालयमा भौतिक पूर्वाधारहरु विद्यार्थी अनुकूल निर्माण गरी अङ्ग्रेजी माध्यममा पठनपाठन सुरु भएको छ । विद्यालयले २०६३ सालदेखि नै अङ्ग्रेजी माध्यममा पठनपाठन गराइरहेको छ । कक्षा ४ र ५ को सामाजिक तथा नेपालीबाहेक सबै विषय अङ्ग्रेजीमा पढाइ हुने र शिक्षकले निजी विद्यालयमा जस्तै मिहेनत गर्ने भएकाले पछिल्लो समयमा निजी विद्यालय छाडेर विद्यार्थी आउन थालेको विद्यालयको भनाइ छ ।
निजी विद्यालयको जस्तै अनुशासन, व्यवस्थापन र पाठयक्रम राखिएपछि विद्यार्थी आउने क्रम बढेको विद्यालयका प्रधानाध्यापक रमाकर अधिकारी बताउँछन् । “निजी विद्यालयमा जस्तै शिक्षकको खटाइ भएकाले विद्यार्थीहरु आउने क्रम बढेको हो”-उनले भने-”सामुदायिक विद्यालयमा पनि निजी विद्यालयको सिको गरेर सुधार गर्न सकेमा विद्यार्थी खोज्ने समस्या हुँदैन ।”
विद्यालयले आगामी शैक्षिकसत्रका लागि विद्यार्थी भर्ना गर्न अभिभावक र शिक्षक मिलेर एकहप्ते घरदैलो अभियान सञ्चालन गर्ने योजना बनाएको छ । अभियानका क्रममा कम्तीमा पनि १२ जना विद्यार्थी निजी विद्यालय छाडेर आउने विश्वास लिएको प्रधानाध्यापक अधिकारीको विश्वास छ । “गत वर्ष पनि १० जनाभन्दा बढी विद्यार्थी निजी विद्यालय छाडेर आएका थिए”-उनले भने-”यस वर्ष पनि त्योभन्दा बढी विद्यार्थी आउने अभिभावकहरुबाट आश्वासन पाएका छौँ ।’ यस शैक्षिकसत्रको नतिजा प्रकाशित गरेपछि वैशाख २ गतेबाट नियमित रुपमा घरदैलोमा पुगेर विद्यार्थी भर्ना गर्न अभिभावकलाई बोलाउने योजना रहेको छ ।
सदरमुकाम कुस्माबजारबाट नजिकै रहेको यो विद्यालयका अधिकांश विद्यार्थी दलित समुदायका छन् । बसाइँसराइका कारण केही विद्यार्थी हिँडे पनि गुणस्तर र
व्यवस्थापनमा गरिएको सुधारका कारण थपिने क्रम बढिरहेको छ । विद्यालयमा अहिले ६२ जना विद्यार्थीले अध्ययन गर्दै आएका छन् । “बसाइँसराइका कराण केही विद्यार्थी घटे पनि थपिने सङ्ख्या उत्तिकै रहेकाले विद्यार्थी सङ्ख्या घटबढ हुँदैन”-अधिकारीले भने ।
विसं २०५६ मा स्थापना भएको विद्यालयमा दरबन्दीमा तीन शिक्षक, एक राहत र एकजना निजी स्रोतमा राखिएको छ । बालविकास सहयोगी कार्यकर्तासमेत कार्यरत छन् । विद्यालयमा विद्यार्थीलाई कम्प्युटरमार्फत शिक्षा दिने व्यवस्था मिलाइएको छ । तीनवटा कम्प्युटरमार्फत प्रत्येक विषयलाई हप्तामा एक दिन पढाउने व्यवस्था मिलाएको छ ।
विद्यालयमा आएको सुधार र शिक्षकको मिहेनतबाट अभिभावकसमेत सन्तुष्ट भएका छन् । सामुदायिक विद्यालयमा शिक्षकले ध्यान पूर्व पठनपाठनका लागि समय नदिने र अभिभावकले चासो नदिएका कारण सुधार हुन नसकेको भए पनि जनपि्रय प्राविमा यस्तो अवस्था नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छबिलाल तिवारीले वताए ।