काठमाडौं– कानुन, न्याय, संविधानसभा तथा सङ्घीय मामिला मन्त्री नरहरि आचार्यले शरीरमात्र नभएर मनलाई पनि स्वस्थ राख्न नियमित रुपमा योग साधना र अभ्यास गर्नुपर्ने बताउनुभएको छ ।
पतञ्जलि योग पीठ नेपालको सहयोगमा साउथवेस्टर्न एकेडेमिक रिसर्च सेन्टरले विद्यालय परिसरमा आयोजना गरेको बृहत् योग विज्ञान शिविरको उदघाटन गर्दै मन्त्री आचार्यले शरीर स्वस्थ रहँदा गरिने योगअभ्यासले दीर्घजीवन जीउन सहयोग गर्ने बताउनुभयो ।
राजनीतिक सङ्घर्षका क्रममा जेलमा बस्दा आफूले योग साधना गरेर समय व्यतित गरेको र अहिले पनि आफूले नियमित योग साधना गर्ने गरेको उल्लेख गर्दै उहाँले विद्यार्थीलाई पनि नैतिक मूल्य मान्यताअनुरुपको जीवनयापन गर्न योग शिक्षाले मद्दत गर्ने बताउनुभयो ।
सो कार्यक्रममा साउथवेस्टर्न कलेजका प्रिन्सिपल डा राजेन्द्र केसी र विद्यालयका प्रधानाध्यापक मनोज आचार्यले विद्यार्थीलाई स्वस्थ शरीरका लागि अभ्यास गराउन शिविरको आयोजना गरिएको बताउनुभयो । सो शिविर दुई हप्तासम्म चल्नेछ ।