काठमाडौं – विदेशबाट मुलुकमा रेमिट्यान्स भित्राउँदै आएको इजी लिंक रेमिट्यान्स र बैंक अफ काठमाण्डूवीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । इजी लिंकले विगत १६ वर्षदेखि रेमिट्यान्स भित्राउने काम गर्दै आएको छ ।
सम्झौता पत्रमा इजी लिंकका प्रबन्धक दिपेन्द्र खनाल र बैंक अफ काठमाण्डूका प्रमुख सञ्चालन अधिकृत प्रविन प्रकाश क्षेत्रीले हस्ताक्षर गरे । सम्झौतापछि विदेशबाट इजी लिंकमार्फत पठाएको पैसा बैंक अफ काठमाडौंका मुलुकभर रहेका ५१ शाखाहरुबाट भुक्तानी लिन सकिने भएको छ ।
नेपाल राष्ट्र बैंकबाट एक नम्बरको इजाजत प्राप्त कम्पनी इजी लिंकले जापानबाट रेमिट्यान्स भित्राउँदै आएको छ । पछिल्ला दिनमा विभिन्न रेमिट्यान्स कम्पनीसँग सहकार्य गरि विभिन्न मुलुकबाट रेमिट्यान्स भित्राउन सञ्जाल विस्तार कार्यलाई तिब्रता दिएको छ ।
कम्पनीका प्रबन्धक दिपेन्द्र खनालका अनुसार इजी लिंकले देशभरिका वाणिज्य बैंकहरु, विकास बैंक, फाइनान्स कम्पनी, सहकारी लगायत विभिन्न सब-रेमिट्यान्सहरुसँग पनि रेमिट्यान्स भुक्तानी सम्झौता गरेको छ । अब इजी लिंकमार्फत पठाएको रेमिट्यान्स मुलुकभरका करिब २ हजार आधिकारिक एजेन्टहरुबाट भुक्तानी लिन सकिने बताईएको छ । ***