काठमाडौं – नेकपा एमालेले संविधानसभाको निर्वाचनमा अन्तर्घात गरेको आरोपमा विभिन्न जिल्लाका पार्टी नेता–कार्यकर्तालाई अनुशासनको कारबाही गरेको छ ।
कारबाहीमा पर्नेमा एमाले नुवाकोट जिल्ला कमिटी सदस्य वृन्दा ढुङ्गानालाई छ महिनासम्म निलम्बन, सोही जिल्लाका क्षेत्र नम्बर २ का क्षेत्रीय उपाध्यक्ष बद्री मैनालीलाई सङ्गठित सदस्यताबाटै हटाइएको एमाले बागमती अञ्चल समन्वय कमिटीका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
मैनालीलाई सो क्षेत्रका नेपाली काँग्रेसका उम्मेदवार डा. रामशरण महतलाई सहयोग गरेको आरोप लागेको थियो ।
त्यस्तै, रामेछापका राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य शिवकुमार कार्की र सिन्धुपाल्चोकका राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य फुल्मु शेर्पालाई सो पदबाट हटाउने निर्णय कमिटीले गरेको छ । शेर्पाले आफूले टिकट नपाएपछि पार्टीमा असन्तोष जनाउँदै आउनुभएको थियो ।
अञ्चल कमिटीले काभ्रे जिल्लाका पूर्व सभासद् कृष्णप्रसाद सापकोटा र पार्टीको सिन्धुपाल्चोकका पूर्वसचिव सुरेश नेपाललाई कारबाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस पनि गरेको सचिव तामाङले जानकारी दिनुभयो । ***