काठमाडौं – उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले पत्रकारहरूको पेन्सनका लागि आफूले आफ्नो ठाउँबाट पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
हालै राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै गौतमले पत्रकारहरूलाई पेन्सनको व्यवस्था गर्न प्रेस संसदको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो । मन्त्री गौतमले पत्रकार महासंघले प्रेस संसद र पत्रकार पेन्सनको व्यवस्थाका लागि पहल गर्न सुझावसमेत दिनुभयो । ‘महासंघले पहल गर्यो भने आफ्नो ठाउँबाट मैले पूर्णरूपमा सहयोग गर्नेछु ।’ उपप्रधानमन्त्री गौतमले भन्नुभयो । गृहमन्त्री गौतमले दण्डहीनता, गुण्डागर्दी तथा गैरकानुनी कामको अन्त्य गर्नु नै आफ्नो पहिलो काम रहेको पनि सो अवसरमा व्यक्त गर्नुभयो । संक्रमणकालको दुरूपयोग गरी केही तत्वले दण्डहीनता तथा गैरकानुनी कामलाई मलजल गर्ने प्रयास गरेकाले त्यसलाई रोक्ने आफ्नो पहिलो काम रहेको गौतमले उल्लेख गर्नुभयो । सो अवसरमा उहाँले नेपाली क्यासिनोहरू गैरकानुनी रूपमा नेपालीलाई जुवा खेलाइरहेकामा आपत्ति पनि जनाउनुभयो ।
यसैबीच एक छुट्टै कार्यक्रममा गौतमले नेपाल शरणार्थीको बोझ बोकिरहने देश बन्न नहुने विचार व्यक्त गर्नुभयो । उहाँले शरणार्थीको रूपमा रहेका समूहबाट नेपालको शान्तिसुरक्षामा खलल आएको खुलासा गर्नुभयो । शरणार्थीका रूपमा रहनेले पूर्णरूपमा नेपाली कानुनको पालना गर्नुपर्ने भन्दै गौतमले उनीहरूलाई परिचयपत्र भिरेर मात्र आवागमन गर्न दिन सुरक्षा निकायलाई निर्देशन दिइसकेको खुलासा पनि गर्नुभयो ।
नेपालमा कुनै पनि मित्रराष्ट्रविरुद्धका गतिविधि क्षम्य नहुने भन्दै गौतमले सुन तस्करी, जाली नोट कारोबार र चीनविरुद्धका गतिविधिजस्ता क्रियाकलाप नियन्त्रणमा पूर्णरूपमा ध्यान पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गुण्डागर्दी देशव्यापी छ । यसको अन्त्य हुनैपर्छ र थालनीसमेत भएको छ हिम्मतका साथ काम गर्ने र गल्ती भएपछि सच्याउने खालको आफ्नो आदत सुनाउँदै गौतमले भन्नुभयो, ‘ढुक्क हुनुस् अर्काले दुःख गरेर कमाएको धन लुटेर मोज, मस्ती र रवाफिलो जीवनशैलीमा रमाउनेलाई ठेगान लगाउँछु’ गौतमले फुटपाथका व्यवसायीलाई अन्य विकल्प खोजेर भए पनि व्यवस्थित गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । ***